
-प्रकाश लिम्बू/ईमेज
तेह्रथुम । गाँउगाँउमा सडक सञ्जाल जोडिएसँगै तेह्रथुमका स्थानीयले बाँसको बिक्रीबाट आम्दानी गर्न थालेका छन ।
यसअघि बाँसबाट डोको, डालो, थुन्से, लगायतका सामग्री बनाएर बिक्री गरिरहेका उनीहरुले अहिले बाँसको बोट नै विक्री गर्न थालेका हुन् ।
मध्यपहाडी लोकमार्गले छोएका स्थानमा यातायातका साधन पुग्न थालेसँगै व्यापारीहरु किसानको घरघरमै पुगेर बाँस खरिद गर्न थालेका छन् ।
बारीबाटै बाँस बिक्री हुन थालेसँगै त्यसै खेर गइरहेका बाँसबाट किसानले आम्दानी प्राप्त गर्न थालेका हुन् ।
यातायातको पहुँच पुगेपछि आफ्नो बारीमा त्यत्तिकै कुहिएर खेर गइरहेका बाँसबिक्रीले निकै रकम साटेको म्याङलुङ नगरपालिका १० का कृषक पुकराज लिम्वु बताउँछन् ।
स्थानीय सरकारले पनि सडक विस्तारको कामलाई तीव्रता दिएसँगै गाउँमा उत्पादित वस्तुले बजार पाउन थालेका हुन् ।
यसअघि बाँसको प्रयोग बार लगाउने, दाउरा बाल्ने, घरगोठ बनाउनेलगायतका काममा मात्र गरिने भएकाले खासै उपयोग थिएन ।
गाउँमा खेर गइरहेका बाँसलाई राम्रै मूल्य दिएर काठमाडौँ लैजाने गरेको ठेकेदार विष्णु उप्रेतीको भनाइ छ । खासै प्रयोगमा नआएका बाँसले उचित मूल्य पाउन थालेपछि किसानहरु पनि उत्साहित बनेका छन् ।
ग्रामीण भेगका अधिकांश बाँसहरु सदरमुकामसहित धनकुटा, धरान, विराटनगर, झापा कााठमाडौँ लगायतका बजारहरुमा विक्री हुन थालेको छ ।
बाँस बिक्री हुन थालेपछि स्थानीयले वार्षिक २० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको स्थानीय सुदिप लिम्बू बताउँछन् ।
बाँसबाट आम्दानी हुन थालेपछि घर खर्च चलाउन पनि सहज भएको छ । स्थानीय स्तरमा उत्पादित यस्ता वस्तुहरुको अधिकतम उपयोग गर्न सके मात्र सबैतिरको जीवनस्तर माथि उठ्ने थियो ।
प्रतिक्रिया दिनुहोस्