२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बेलायतमा जुलाई १९ पछि सबै प्रतिबन्ध फुकुवा गर्ने


0
Shares

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यही जुलाइ १९ देखि आफ्नो मुलुकमा कोरोना सम्बन्धी लगाइएका सम्पूर्ण प्रतिबन्धहरु हटाउन सकिने बताउनुभएको छ ।

प्रधानमन्त्री जोन्सनले कोरोना संक्रमणको दर कम हुँदै गएकाले स्वास्थ्यका मापदण्ड अपनाएर सबै प्रतिबन्धहरु फुकुवा गर्ने तयारी गरेको बताउनुभो ।

उहाँले अनिवार्य मास्क लगाउनुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने र रेष्टुरेन्टमा क्यूआर कोड साइन गर्नुपर्ने नियम हटाइने जानकारी दिनुभयो ।

सरकारको पूर्व निर्धारित ‘रोडम्याप’ अन्तर्गत चौंथो तथा अन्तिम चरणमा ६ जना भन्दा बढी जमघट गर्न नपाइने हालको नियम, पब र रेष्टुरेन्टमा टेबल सर्भिस, थिएटर र सिनेमा हलमा सीमित दर्शकको नियम पनि अब हटाइने छ ।

हालसम्म बन्द नाइट क्लब खुल्नेछन् भने घरैबाट काम गर्ने निर्देशिका पनि हटाइनेछ । विवाह, अन्त्येष्टी र अन्य समारोहमा सहभागी हुन कुनै रोक लगाइने छैन ।

यसबारे आगामी सोमबारसम्मको तथ्यांक हेरेर समिक्षा गरिने छ । विद्यालय, ट्राभल र सेल्फ आइसोलेसनको पूर्वनिर्धारित नियमबारे छिट्टै पुर्नविचार गरिने प्रधानमन्त्री जोन्सनले जानकारी दिनुभयो ।

ती नियम हटाउने बेला कोरोना संक्रमण बढ्ने सम्भावना रहेपनि खोपका कारण मृत्युदर न्यून हुने उहाँको भनाइ छ ।

सरकारले सेप्टेम्बर अन्तिमसम्म १८ वर्ष माथिका सबैलाई खोप लगाइने बताएको छ । हालसम्म बेलायतमा ७ करोड ९० लाख भन्दा बढी डोज खोप वितरण भएको छ ।

जुलाइ ५ सम्मको तथ्यांक अनुसार ६४ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८६ दशमलव १ प्रतिशतले पहिलो डोज लगाएका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा ७ करोड ९० लाख ७८ हजार ८१ डोज खोप वितरण भइसकेको छ ।

जसमध्ये चार करोड ५३ लाख ५१ हजार ७१९ जनाले पहिलो र तीन करोड ३७ लाख २६ हजार ३६२ जनाले दोस्रो डोज लगाएका छन् ।