Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


अन्तिम पटक भन्दै थपेको कांग्रेस महाधिवेशन कार्यतालिका पुनः प्रभावित


0
Shares

रोमन आचार्य
काठमाडौं, असार २० । अन्तिम पटक भन्दै कांग्रेसले थपेको महाधिवेशन कार्यतालिका पुनः प्रभावित भएको छ । कृयाशील सदस्यता छानबिन समितिले असार २० भित्र अन्तिम सूची सभापतिलाई बुझाउने भनिएकोमा यस अवधिमा छानबिन त परै जाओस बडो मुश्किलले सदस्यता इन्ट्रीको काम मात्रै भएको छ ।

शनिबार बेलुका मात्र अन्तिम इन्ट्री गरेको बारा जिल्लालाई कृयाशीलमा उजुरी दिने समय पाँच दिन तोकिएको छ । यो सँगै जसोतसो ७७ जिल्लाका १ सय ६५ बटै निर्वाचन क्षेत्रबाट सदस्यता इन्ट्री त गरिएको छ । यतिवेला कृयाशील सदस्यता छानबिन समिति करिव अढाइ सय वडाहरुको विवाद मिलाउन तल्लिन हुँदा सिन्धुपाल्चोक र वर्दीयाबाट उजुरीको पर्खाइ पनि छ । समितिले अहिलेसम्म करिव ३५ जिल्लाको सदस्यता विवाद समाधान गरेपनि अन्य जिल्लाहरुको हकमा भने उपलव्धीमूलक काम हुन सकेको छैन ।

साउन १२ मा वडा तहबाट शुरु भएर भदौं १९ गते केन्द्रमा नयाँ नेतृत्व ल्याउन असार ३० भित्र पार्टीसभापति शेरवहादुर देउवाबाट हस्ताक्षर भएर कृयाशील सदस्यको अन्तिम तालिका निर्वाचन समितिको हातमा पुग्नुपर्ने हुन्छ । जसका लागि असार २० गते केन्द्रीय कार्यसमितिले सूची पार्टी सभापतिलाई बुझाउनुपर्ने थियो । किन आफूले पाएको जिम्वेवारी समितिले पूरा गर्न सकेन त ?

कृयाशील सदस्यता छानबिन मापदण्ड समयमै फाइनल हुन नसक्दा समस्या जटिल बनेको हो । चार वर्षअघि विजयकुमार गच्छदार नेतृत्वमा कांग्रेसमा विलय भएको फोरम लोकतान्त्रीकलाई स्वतः नविकरण हुने भनिएको २५ हजार कृयाशील सदस्यताको विवाद मुख्य कारक बन्यो ।

राप्रपाबाट आएका सुनिल थापालाई दिइएको १० हजार र अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई कृयाशील दिँदा संस्थापन पक्षले मनपरि गरेको भन्दै उत्पन्न विवादले तालिकामा असर गरेको हो । शतप्रतिशतले सदस्यता वृद्धि गर्ने नाममा तेव्वरले भएको वृद्धि तथा वडा, क्षेत्रिय र जिल्ला समितिमा पनि संस्थापन र इतर समूहबीच कृयाशील वितरण र हटाउने खेलमा परेका उजुरीहरुले पनि समस्या सृजना भएको बुझाइ समितिको छ ।

विवाद भएको स्थानमा १३ औं महाधिवेसनको प्रतिनिधिबाटै काम चलाउने निर्णयले अब चाहिँ कांग्रेसलाइ राहात मिल्न सक्छ । बल्ल ८ लाख ४६ हजार ७ सय २९ कृयाशील सदस्यको संख्या पुगेसँगै कांग्रेसको १० लाख कृयाशील सदस्य पुर्‍याएर महाधिवेसन गर्ने महत्वकाक्षा पनि पूरा नहुँने देखिन्छ । अधिवेशन प्रभावित गर्न आफूनिकटलाई कृयाशील वितरण गर्ने होडवाजीले कांग्रेसभित्र झन समस्या सृजना भएको हो ।