१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


संयुक्त राष्ट्रसंघको किसान अधिकारसम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकारसँग माग


0
Shares

काठमाडौं, साउन १३ । अखिल नेपाल किसान महासंघले संयुक्त राष्ट्रसंघको किसान अधिकारसम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकारसँग माग गरेको छ ।

घोषणापत्रबारे दक्षिण एशियास्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको जानकारी दिँदै महासंघले उक्त घोषणापत्र अनुमोदनको माग गरेको हो ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले किसान अधिकार घोषणपत्रलाई संयुक्त राष्ट्रसंघबाट पारित गराउनका लागि विश्व समुदायको ध्यानाकर्षणसमेत गराएको छ ।

गत साउन ११ र १२ गते किसान तथा ग्रामिण क्षेत्रका अरु श्रमिकको अधिकारसम्वन्धि संयुक्त राष्ट्रसंघबाट पारित हुन लागेको किसान अधिकारसम्बन्धी घोषणापत्रका बारेमा दक्षिण एशियास्तरीय बैठक काठमाडौमा सम्पन्न भएको थियो ।

पत्रकार सम्मेलनमा महासंघका सचिव दाताराम खनालले मानवअधिकार आयोगले किसानहरुको अधिकारसम्बन्धमा अगाडि सारेका विषयहरु स्वीकार्दै खाद्य सम्प्रभुताको अधिकारका लागि संघर्ष अगाडि बढाउने निर्णय गरेको बताए ।

महासंघले किसानको जल, जमीन र कार्य क्षेत्रको सुरक्षा गर्दै किसानमाथि हुने विभेद अन्त्य गर्न माग गरिएको छ ।