पोखरा । नेपाल र भारतका अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक आजबाट पोखरामा सुरु भएको छ । पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोरी फरेष्ट रिसोर्टमा बैठक बसिरहेको हो ।
तीन दिनसम्म चल्ने बैठकमा दुई देशको सीमा सुरक्षाको विषयमा छलफल हुने बताइएको छ । खुल्ला सीमाका कारण दुई देशबीच बढेको आपराधिक गतिविधि कम गर्ने उद्देश्यले हरेक वर्ष बस्ने भनिएपनि तीन वर्ष यता यो बैठक बस्न सकेको थिएन ।
यसअघि २०७३ साल साउन अन्तिम साता भारतको नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो । यो चौथो बैठक हो । बैठकमा नेपाल र भारतबीच रहेको सीमा विवादको विषयमा समेत छलफल हुने बताइएको छ ।
बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको २० सदस्य टोली सहभागी छन् भने भारतका तर्फबाट ६ जना सहभागी छन् ।
हाल नेपाल भारत सीमा क्षेत्रमा नेपालको तर्फबाट सशस्त्रका १०७ टोली खटिएकोमा त्यसलाई बढाएर १२७ टोली बनाउने प्रस्ताव नेपालले गर्ने जनाएको छ ।
बैठकमा भएको निर्णयलाई गृह मन्त्रालयमा पेश गरिनेछ । बैठक अति गोप्य रहेको भन्दै सञ्चारकर्मीलाई भने प्रवेशमा रोक लगाइएको छ ।
सुरक्षा स्रोतका अनुसार अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त गस्ती, सूचना आदान प्रदानका एजेण्डामा बैठक केन्द्रीत हुनेछ । बैठक शुक्रबारसम्म चल्नेछ ।









प्रतिक्रिया दिनुहोस्