प्रदीप पौडेल (इमेज)
पोखरा, मंसिर ३ । नेपाली कांग्रेस कास्कीले पट्नेरीका स्थानीयलाई कम्बल वितरण गरिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सो स्थान कास्की निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत् पोखरा महानगरपालिका–१५ मा पर्छ । जहाँ यही मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।
पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेलले सोमबार पट्नेरी बस्तीका १२ जनालाई कम्बल वितरण गरेका थिए ।
उनले पोखरा–१५ स्थित ‘थ्री एन्जल्स नेपाल’ संस्थाको सहयोग र सहकार्यमा विपन्न परिवारलाई ब्लांकेट उपलब्ध गराइएको जनाएका छन् ।
वडाध्यक्ष पौडेलको यो कार्य निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध हुने कास्की कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरी जनाएको छ ।
‘निर्वाचनको मुखमा निर्वाचन क्षेत्रका मतदातालाई प्रलोभनमा पारी प्रभावित पार्ने मनसायले गरिएको यसप्रकारको कार्यको घोर निन्दा र भर्त्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई सचेत गराउँदछौं’–विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा उल्लेख छ–‘हतास मनस्थितिबाट गरिएको यसप्रकारको निन्दनीय कार्यशैलीलाई निर्वाचन कार्यालयले अनुगमन गरी आचारसंहिताविपरीत कार्य गर्नेमाथि कारबाही गर्न जोडदार माग गर्दछौं ।’
आयोगमा उजुरी
निर्वाचन आचारसंहिताविपरीत वडा कार्यालयले कम्बल वितरण गरेको भन्दै कास्की कांग्रेसले मंगलबारै निर्वाचन आयोगमा उजुरी दिएको छ ।
पार्टी जिल्ला सभापति कृष्ण केसीकाअनुसार निर्वाचन क्षेत्रभित्र मतदातालाई प्रलोभनमा पार्ने काम वडा कार्यालयबाटै भएको भन्दै वडाध्यक्षलगायत त्यस कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिइएको हो ।
पोखरा–१५ का वडाध्यक्ष पौडेल तत्कालीन नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए ।









प्रतिक्रिया दिनुहोस्