
काठमाडौं । प्रतिनिधि सभा बैठकमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा एक किशोरीको बलात्कारपछि हत्या भएको घटनाप्रति हंगामा भएको छ ।
सांसदहरुले बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका हुन् ।
केही दिन पहिले कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेर उखु बारीमा फालेको अवस्थामा शव फेला परेको थियो ।
दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिइकन शव नबुझ्ने भन्दै स्थानीय बासिन्दाले कञ्चनपुरमा विरोध गरिरहेका छन् ।
संसदको शून्य र विशेष समयमा सांसद डिला संग्रौला, उमा रेग्मी, तेजुलाल चौधरी, प्रेम सुवाल, भरत साह, रंगमती शाही, सरीता गिरी, दीपकप्रसाद भट्ट, नीरुदेवी पाल, दिलेन्द्र बडु, प्रमिला राईलगायतले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकालाई कडा कारबाही गर्न माग गरेका हुन ।
सांसद लक्ष्मी परियार, मीना बुढाथोकी, भोजकुमारी राउतसहितले पनि दोषीलाई पक्रेर चाँडो कारबाही गर्न माग गरिन ।
घटनाको विरोधमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रशासनले दमन गरेको भन्दै उनीहरुले सरकारी अधिकारीकै उपस्थितिमा घटनाको प्रमाण लुकाउने प्रयास भएको आरोप पनि लगाए ।
सांसदहरुले संसद र सरकारको ध्यानाकर्षण गराएपछि सभामुख कृष्णबहादुर महराले घटनाबारे संसदलाई जानकारी गराउन तथा कारबाही प्रक्रियामा भएको प्रगति जानकारी गराउन सरकार तथा गृह मन्त्रालयलाई रुलिङ्ग गरे ।
प्रतिक्रिया दिनुहोस्