काठमाडौं, मंसिर ३ । यही मंसिर १५ गतेदेखि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली टोली तयार भएको छ ।
राष्ट्रिय टोली तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले मंगलबार पत्रकार सम्मेलन गरी सागका लागि नेपाली टोली पूर्ण तयार अवस्थामा रहेको जानकारी दिए ।
नेपालले सागमा समावेश सबै २८ खेलमा प्रतिस्पर्धा गर्दैछ ।
खेलाडी दर्ताको आधिकारिक समय बुधबारसम्म भएपनि नेपालबाट ५९२ खेलाडी सहभागी हुने टुंगो लागिसकेको छ ।
खेलाडीहरुलाई गएको जेठ १५ गतेदेखि चार चरणमा प्रशिक्षण गराइएको रानाभाटले जानकारी दिए ।
यसपटक २१ ओटा खेलका खेलाडीहरुलाई विभिन्न माध्यमबाट वैदेशिक प्रशिक्षणमा पठाइएको छ ।
नेपालले आठौं सागमा प्राप्त गरेको सफलतालाई यसपटक उछिन्ने राष्ट्रिय टोली तयारी समितिको दाबी छ ।
मुख्य रंगशाला दशरथ रंगशाला तयार हुन अझै केही दिन लाग्ने देखिन्छ । रंगशालाको ‘भीआइपी’ पारापिटमा छानो हाल्ने काम भइरहेको छ । यसबाहेक अरु खेलस्थलहरुको पनि मर्मत–सम्हार चलिरहेको छ ।
सागमा समावेश २८ खेलमध्ये १९ खेल काठमाडौंमा हुनेछन् । पोखरामा ८ खेल हुनेछन् । कुस्ती खेल जनकपुरमा हुनेछ ।
नेपालले स्वर्णपदकको आशा गरेको पाराग्लाइडिङ खेल भने नहुने भएको छ । सागमा समावेश गर्न कम्तीमा चार देशले प्रतिनिधित्व गर्नुपर्ने प्रावधान पूरा नभएपछि यो खेललाई हटाइएको हो ।
एसियाली खेलकुदमा कास्यपदक जितेको नेपालले पाराग्लाइडिङको खेल भएको भए स्वर्ण जित्ने सम्भावना थियो ।





प्रतिक्रिया दिनुहोस्