
कन्चनपुर । महाकाली नदीमा आएको बाढीले कटान गर्न थालेपछि तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित भएका छन् ।
बाढीले कञ्चनपुर, भीमदत्त नगरपालिका महाकाली टोलमा कटान गरेपछि स्थानीय बासिन्दा त्रसित भएका हुन् । उनीहरुले जालीमा ढुङ्गा भरेर रोकथामको प्रयास गरेका छन् ।
बाढीले झण्डै एक सय मिटर तटबन्धको लन्चिङ बगाएको छ भने तटबन्ध पनि क्रमिक रुपमा कटान गर्न थालेको छ ।
नदी किनाराबाट गिट्टी बालुवा झिकिएकाले बाढीले तटबन्धमा कटान गर्नुका साथै लन्चिङ बगाएको प्रहरीले जनाएको छ ।
तीनदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै गएको छ ।
नदीमा पानीको सतह बढेसँगै बाढीले महाकाली नदी किनारमा लगाइएको तटबन्ध कटान गरेको हो ।
महाकाली नदीमा गएराति पानीको सतह बढेपनि बिहान भने घटेर ९३ हजार क्यूसेक पुगेको छ ।
दार्चुला र डडेल्धुरामा पानीको सतह सामान्य रहेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रले जनाएको छ ।
दुई तीन दिनदेखि कञ्चनपुरलगायत चुरे क्षेत्रमा सामान्य वर्षा भइरहेकाले महाकाली नदीमा पानीको बहाव घटबढ हुने क्रम चलिरहेको छ ।
महाकाली नदीले भुजेलामा कटान गरिरहेकाले यस्तो बेला नदीमा पानीको बहाव बढे भने खतरा हुन सक्ने केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्