३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


यसै आर्थिक वर्षमा देश विद्युत्मा आत्मनिर्भर : ऊर्जामन्त्री


0
Shares

सुजित भण्डारी (इमेज)

नुवाकोट, मंसिर २ । नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ‘ए’ परियोजनाको औपचारिक उद्घाटन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रुम’बाट ‘स्वीच’ थिचेर ६० मेगावाट क्षमताको परियोजनाको सोमबार उद्घाटन गरेका हुन् ।

गएको चैतदेखि नियमित विद्युत् उत्पादन सुरु गरेको माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन भएको छ ।

काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५, सिम्लेबाट एकसाथ उद्घाटन गरेका थिए ।

आयोजनाको उद्घाटन गर्दै मन्त्री वर्षमान पुनले सरकारले ऊर्जा दशककोरुपमा आफ्नो काम अगाडि बढाएको भन्दै यसै आर्थिक वर्षमा देश विद्युत्मा आत्मनिर्भर हुने दाबी गरे ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको यस आयोजना सकिनमात्रै एक दशकभन्दा बढी समय लागेको छ । परियोजनाले ८ महिनाअघि नै विद्युत् उत्पादन सुरू गरेको थियो ।

लामो प्रयास र मिहिनेतपछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी १० वर्षपछि नेपाललाई दक्षिण एसियाकै ‘पावरहाउस’कोरुपमा स्थापित गर्ने योजनामा सरकार अगाडि बढेको जानकारी दिए ।

यो आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशत योगदान रहेको बताइएको छ ।

अनुमानित लागत १२ अर्ब ६० करोड रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो ।

इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको काम गर्नेगरी चिनियाँ कम्पनी गेजुवासँग २०६७ साल जेठ १४ गते सम्झौता भएको थियो । २०७१ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

त्यसबेला चिनियाँ कम्पनीसँग ८ अर्ब ९१ करोड ७८ लाखमा ठेक्का सम्झौता भएको थियो ।

प्राधिकरणकाअनुसार यो आयोजनाबाट करिब ९ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनेछ । यस्तै, हिउँदमा भने ४५ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।

आयोजनाबाट उत्पादित विद्युत् त्रिशूली–काठमाडौं २२० केभी क्षमताको प्रसारणलाइनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।