काठमाडौं । मंसिर १५ गतेदेखि सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको ब्रोडकाष्टिङ अधिकार भारतीय कम्पनी नक्षत्र न्यूज एनके मिडिया भेन्चर प्रालिले किनेको छ ।
अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने जिम्मा फिस्कल एजेन्टलाई दिइएको छ ।
आइतबार काठमाडौंमा भएको सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठ, नक्षत्रका प्रभात रञ्जन मल्लिक र फिस्कल एजेन्टका प्रियानाथ चतुराजोपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार राखेपले नक्षत्रबाट आठ करोड रुपैयाँ पाउने छ । त्यस्तै प्रत्यक्ष प्रसारणका लागि प्राप्त हुने विज्ञापनको रकम पनि राखेपले नै पाउने सम्झौता भएको बताइएको छ ।
नक्षत्रलाई नेपाल टेलिभिजनले प्रोडक्सनमा सघाउने छ । नेपाल टेलिभिजनबाट समेत सबै खेलको प्रत्यक्ष प्रशारण हुनेछ ।
त्यसबाहेक कम्तीमा १५ विदेशी च्यानलले सागको प्रत्यक्ष प्रशारण गर्नेछन् । नेपालका निजी च्यानलसंगै समाचारका लागिसमेत खेलको प्रत्यक्ष प्रसारण खिच्न रोक लगाइएको छ ।
खेलको भिडियो र हाइलाइट भने मिडिया सेन्टरबाट उपलब्ध गराउने बताइएको छ । उद्घाटन र समापनको निश्चित भिडियोमात्र खिच्न पाइने बताइएको छ ।
सागको यस संस्करणमा दुई अनअफिसियल सहित २९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
काठमाडौंमा २१, पोखरामा ९ र जनकपुरमा १ खेल हुनेछ । तीन सय २४ स्वर्ण, तीन सय २४ रजत र चार सय ७८ कास्यसहित एक हजार एक सय ३५ पदकका लागि प्रतिस्पर्धा हुने सागमा नेपालले कम्तीमा ५० स्वर्ण जित्ने लक्ष्य लिएको छ ।








प्रतिक्रिया दिनुहोस्