Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


तीन बुँदे सहमतिप्रति सरकार इमानदार भएन : चन्द समूह


0
Shares

काठमाडौं, असार १३ । नेत्र बिक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकारपक्षले ३ बुँदे सहमतिलाई इमान्दारीपुर्वक कार्यान्वयन नगरेको गुनासो गर्नुभएको छ ।

गत फागुन २१ गते सरकारसंग भएको ३ बुँदे सहमति प्रति आफ्नो पार्टी इमान्दार रही कार्यान्वयनको दिशामा गईरहेको भए पनि राज्यले आफ्नो भूमिकालाई इमान्दारीपुर्वक कार्यान्वयन नगरेको बताउनुभएको हो ।

उहाँले सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाउँदा पार्टी, कार्यकर्ता र नागरिकहरु दुखी भएको दाबी गर्नुभयो ।

३ बुँदे सहमति अनुसार जेलमा रहेका आफ्ना कार्यकर्ता रिहाई गर्ने काममा पनि ढिलासुस्ति भएको गुनासो उहाँले गर्नुभयो ।

नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाडांैले आइतबार संघीय राजधानी काठमाडौंमा गरेको रक्तदान कार्यक्रममा संञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उहाँले राज्य आफुले गरेको सहमति प्रति उत्तरदायी भई कार्यान्वयनमा इमान्दार बन्नुपर्ने तर्क गर्नुभयो ।

नेकपा काठमाण्डौ जिल्ला कमिटीले आइतबार गरेको रक्तदान कार्यक्रममा २ सय ५० जनाले रक्तदान गरेको आयोजकले जनाएका छन् ।