
कविराज घिमिरे (इमेज)
धनकुटा, कात्तिक ३० । होटल व्यवसाय भन्नेबित्तिकै सहर–बजारमा चहलपहलयुक्त स्थानमै सन्चालन गर्नुपर्छ भन्ने मान्यता पाइन्छ ।
तर, धनकुटाको छथर जोरपाटी गाउँपालिका–५, परेवादिनको एक गाउँमा सन्चालन गरिएको होटलले यतिबेला धेरैको ध्यान तान्न थालेको छ ।
ठूलो वरको रुख, वरको रुखमा निर्माण गरिएको घर अनि त्यही घरमा सन्चालन गरिएको होटल ।
धनकुटाको छथर जोरपाटी गाउँपालिका–५, परेवादिनको चुम्लुङटोलमा निर्माण गरिएको यो ‘ट्री हाउस’ यतिबेला धेरैको आकर्षणको केन्द्र बनेको छ ।
ट्री हाउस स्थानीय हेम लिम्बू र प्रेम लिम्बूले करिब पाँच लाख रुपैयाँ खर्च गरेर सन्चालनमा ल्याएका हुन् ।
पर्यटक आकर्षण गर्ने, स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने, बसाइँ–सराइको क्रमलाईसमेत न्यूनीकरण गर्ने लक्ष्यका साथ ट्री हाउस सन्चालनमा ल्याइएको उनीहरुले बताए ।
नयाँ तरिकाले जुनसुकै व्यापार–व्यवसाय जहाँ पनि सन्चालन गर्न सकिन्छ भन्ने सन्देश दिन गाउँमै ट्री हाउस सन्चालन गरिएको सन्चालक हेम लिम्बूले बताए ।
धनकुटाको छथर जोरपाटी गाउँपालिकाको जोरपाटीबजार तथा सिदुवाबाट गाडीमा गरी करिब आधा घन्टा तथा पैदल करिब डेढ घन्टाको यात्रामा पुग्न सकिने ट्री हाउसमा जाने सडकसमेत उति राम्रो छैन ।
तर पनि ट्री हाउस हेर्नकै लागि धनकुटासहित छिमेकी जिल्लाबाटसमेत आगन्तुक आउने गरेका छन् । हाल दैनिक ४० देखि ५० जना आउने गरेको लिम्बूको भनाइ छ ।
स्थानीय स्रोत–साधन प्रयोग गरेर नयाँ तरिकाबाट सन्चालन गरिएकाले नयाँपन पाएको आगन्तुक बताउँछन् ।
हेम लिम्बू ४२ महिना विदेशमा काम गरेर केही वर्षअघिमात्र घर फर्किएका हुन् भने प्रेम गाउँमै सामुदायिक स्वास्थ्य इकाईमा काम गदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्