Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


त्रिवि क्रिकेट मैदानमा तेन्दुलकर


0
Shares

काठमाडौं, कात्तिक ३० । नेपाल भ्रमणमा रहेका विश्व क्रिकेटका हस्ती सचिन तेन्दुलकरले शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेट खेलेका छन् ।

एउटा टोलीको कप्तान सचिन र अर्को टोलीको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले गरेका थिए ।

सचिनको टोलीमा विभिन्न विद्यालयका छात्रछात्रा सहभागी थिए । विनोदको टोलीमा पनि विभिन्न विद्यालयबाट छनोट भएर आएका छात्रछात्रा सहभागी थिए ।

पहिले ब्याटिङ गरेको विनोदको टोलीले निर्धारित् पूरै ८ ओभर खेल्दै ४५ रन बनाएको थियो । सचिनको टोली उक्त लक्ष्य पूरा गर्दै विजेता बन्यो ।

यो मैत्रीपूर्ण खेल संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३०औं वर्षका अवसरमा युनिसेफले आयोजना गरेको हो ।

सचिन युनिसेफको सद्भावनादूत हुन् । उनी भारतबाट शुक्रबार राति नेपाल आएका हुन् ।

कीर्तिपुर मैदानमा सचिनले ब्याटिङ, फिल्डिङ र बलिङ गरे । उनले खेलकाक्रममा बालबालिकालाई ब्याटिङ र बलिङसमेत सिकाएका थिए ।

यस्तै, सचिनले १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई पनि क्रिकेटबारे सुझाव दिए ।