३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


उदयपुरमा ‘मापदन्डविपरीत’ खोलाको ढुंगा उत्खनन्, टिपरलाई सडकमै रोकियो


0
Shares

उदयपुर, कात्तिक ३० । उदयपुरमा मापदन्डविपरीत खोलाको ढुंगा उत्खनन् र ओसार–पसार गरेको भन्दै टिपरहरुलाई स्थानीयले सडकमै रोकेका छन् ।

तीन दिनदेखि वेलका नगरपालिका–४ र ५ का स्थानीयले २० भन्दा बढी ढुंगा ‘लोड’ गरिएका टिपरलाई सडकमै रोकेका हुन् ।

खोलामा ‘हेभी इकुप्मेन्ट’ लगाएर उत्खनन् गर्दा पुरै बस्ती र वनक्षेत्र जोखिममा पर्ने भएकाले ठेक्का रद्द गरी निकासी बन्द गरिनुपर्ने माग स्थानीयले राखेका छन् ।

स्थानीय गिदेरी, बगुन्द्रा, सिसुवा, यशोदा, कोशेपा, सेती, धारा र खडौरिया खोलाका ढुंगा, गिटी र बालुवा बिक्री तथा निकासीका लागि बीपी कन्स्ट्रक्सन सिराहाले तीन करोड ५६ लाख रुपैयाँमा गएको भदौमा ठेक्का पाएको थियो ।

मापदन्ड मिचिएको र रातको समयमा टिपरले ढुंगा बोकेकामा स्थानीयको आक्रोश रहेको वेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टराईले बताए ।

सुरुमा कुटो, कोदालो, साबेलजस्ता औजारले संकलन गर्ने भनिएपनि स्काभेटर, डोजरबाट नदीजन्य पदार्थ उत्खनन् गरिएकाले यसको नियन्त्रण नभएसम्म टिपर नछाडिने र आन्दोलन जारी रहने स्थानीयको भनाइ छ ।