प्रकाश नेपाल/ईमेज
इलाम । इलामको पश्चिमी क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र गजुरमुखी धाममा पूर्वाधार विकास नहुँदा भक्तजनलाई समस्या भएको छ ।
पक्की सडक र भौतिक पूर्वाधारको कमी हुँदा गजुरमुखीको दर्शन गर्न जाने दैनिक सयाँै भक्तजन प्रभावित बनेका हुन् ।
इलामको माङसेबुङ गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल गजुरमुखीमा पूर्वाधार विकासको अवस्था ज्यादै दयनीय छ ।
स्थानीय बागवीर लिम्बूले करिब साढे २ सय वर्षअघि गजुरमुखी पत्ता लगाएको र गजरामुखीबाट गजुरमुखी नामाकरण भएको इतिहास भेटिन्छ ।
विशेष गरेर निसन्तानलाई सन्तान हुने र बोल्न नसकेका बच्चाको बोली फुट्ने भन्ने विश्वासका साथ दैनिक सयौैँ भक्तहरु गजुरमुखीको दर्शन गर्न आउँछन् ।
मनोकांक्षा पूरा हुने विश्वासमा दर्शनार्थीहरु पटक पटक दर्शन गर्न आउने गरेको मन्दिरका पुजारीको भनाइ छ ।
शनिवार र मंगलबार विशेष भक्तजनहरुको घुइँचो लाग्ने यहाँ छेवैमा रहेको देउमाई खोला किनारामा कात्तिके पूर्णिमामा ठूलो मेला समेत लाग्ने गरेको छ ।
स्वेदशीसहित भारतको सिक्किम, दार्जिलिङलगायत भुटानबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
इलाम सदरमुकामबाट २६ किलोमिटरको दुरीमा देउमाई नगरपालिकाको मंगलबारे पुगिने र त्यहाँबाट करिव एक घण्टा कच्ची सडकमार्फत् गजुरमूखी पुग्न सकिन्छ ।
तर सडक कालोपत्रे नहुँदा बाह्रैमहिना सवारी नचल्ने भएकाले भक्तजनलाई असहज हुने गरेको स्थानीयको भनाइ छ ।
आस्था र विश्वासका आधारमा महत्वपूर्ण मानिए पनि प्रचारप्रसार र भौतिक पूर्वाधारको अवस्था दयनीय हुँदा अपेक्षित पर्यटक भित्रिन सकेका छैनन् ।
सहज आवागमन गराउन सके दैनिक हजारौँ पर्यटक भित्रिने भक्तजनहरु बताउँछन् ।





प्रतिक्रिया दिनुहोस्