३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


यसरी रिहा भए उद्योगी रुपज्योति


0
Shares

काठमाडौं, कात्तिक २९ । ठगी आरोपमा पक्राउ परेका उद्योगी रुपज्योति कंसाकार र उनकी छोरी सुरुची शुक्रबार ‘हाजिर जमानी’मा रिहा भएका छन् ।

उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर नगर्ने निर्णय गरेपछि उनीहरुलाई रिहा गरिएको हो ।

हामीसित कुरा गर्दै जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले ठगीमा परेको भन्दै उजुरी दिने विज्ञेन्द्रकृष्ण मल्लले आफूले पाउनुपर्ने रकम पाइसकेको निवेदन दिएकाले मुद्दा नचलाउने निर्णय गरिएको बताए ।

उनकाअनुसार सरकारी वकिल कार्यालयले रुपज्योति र उनकी छोरी सुरुचीलाई रिहा गर्नका लागि महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो ।

त्यसपछि परिसरले महानगरीय प्रहरी वृत्त दरबारमार्गलाई रिहाइको आदेशसहितको पत्राचार गरेपछि उनी रिहा भएका हुन् ।

प्रहरी हिरासतबाट रिहा भएपछि उद्योगी रुपज्योतिले आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

रिहाइकाक्रममा उनलाई समर्थकहरुले फूलमालाले स्वागत गरेका थिए ।

रिहाइको पत्र आएपछि पारिवारिक अस्पताल ‘ग्रान्डी सिटी’मा रहँदै आएकी सुरुची पनि दरबारमार्ग प्रहरीमा पुगेकी थिइन् ।

यही कात्तिक २१ गते सिंगापुरबाट काठमाडौं आउनेक्रममा रुपज्योति र उनकी सुरुचीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले ०७५ मंसिर २० गते रुपज्योतिको नाममा पक्राउपुर्जी जारी गर्न अनुमति दिएको थियो ।