Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


अख्तियारद्वारा चुडामणि शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, १ अर्ब ३३ लाखको बिगो दावी


26
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोग, २०७१ का सदस्यसमेत रहनुभएका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

तीनजनाबाट बिगोवापत एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताउनुभयो । उनीहरूले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरूसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानि नोक्सानी पुर्‍याइ बदनियतपूर्ण कार्य गरेको स–प्रमाण पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।