३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


कार्यालय सहयोगीले चलाउँछन् भन्सार


13
Shares

कञ्चनपुर । बैलौरी छोटी भन्सार कार्यालयमा सुरक्षाको व्यवस्था नहुँदा अवैध रुपमा मालसामान ढुवानी भइरहेको छ । दुई जना कार्यालय सहयोगीको भरमा चलेको छोटी भन्सारबाट सुरक्षा व्यवस्था नहुँदा रातिमा अवैध रुपमा मालसामान आयात भइरहेको हो ।

रातिमा भन्सारकै बाटो भएर गाडीमा मालसामान ओसारपसार हुने गरेपनि सुरक्षा व्यवस्था नहुँदा आफूहरुले कडाई गर्न नसकेको बैलौरी छोटी भन्सार कार्यालयका कार्यालय सहयोगी तेजबहादुर मडैले जानकारी दिए ।

दिउँसोमा सशस्त्र प्रहरीका दुई जना जवान सुरक्षामा खटिएपनि रातिमा भने कार्यालय सहयोगी मात्रै बस्नु पर्ने अवस्था छ । तीनजना नायब सुब्बा र दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको यस कार्यालयमा नायब सुब्बा १० दिनभन्दा बढी नबस्ने गरेको मडैको भनाई छ ।

दरबन्दीका कर्मचारी नबस्ने गरेकाले राजस्व संकलनमा कमी आएको जनाइएको छ । भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्रै बस्ने गरेकाले चोरी पैठारी बढ्दै गएको बताइएको छ ।

२०२० सालमा स्थापना भएको बैलौरी छोटी भन्सार कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ५५ हजार मात्रै राजस्व संकलन गरेको छ । यस्तै गत आर्थिक वर्षमा २ लाख ५० हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।