
काठमाडौं, कात्तिक २८ । ल्यान्डमार्क हाउजिङमा ठगी गरेको आरोपमा पक्राउ परेका उद्योगी डा. रुप ज्योतिको मुद्दामा अनुसन्धानपछि नेपाल प्रहरीले बुझाएको फाइल सरकारी वकिल कार्यालयले बिहीबार प्रहरीलाई नै फिर्ता पठाएको छ ।
ठगीको उजुरीकर्ता विज्ञेन्द्रकृष्ण मल्लले ‘मिलापत्र गरी पाऊँ’ भनी प्रहरीमा उजुरी फिर्ताका लागि निवेदन दिएपछि अभियोजनका लागि प्रहरीलाई नै फाइल फिर्ता पठाइएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले जानकारी दिए ।
हामीसित कुरा गर्दै उनले रुप ज्योतिको सम्बन्धमा गरिएको अनुसन्धानसहितको फाइल महानगरीय प्रहरी परिसर काठमाडौंलाई फिर्ता पठाएकोे बताए ।
काठमाडौं जिल्ला अदालतको अनुमतिले थुनामा रहेका उनको मुद्दा मिलापत्रमा जाने तयारी भइरहेकोसमेत बुझिएको छ ।
उजुरीकर्ता विज्ञेन्द्रकृष्ण मल्लले बुधबार उजुरी फिर्ताका लागि सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए ।
गएको बिहीबार पक्राउ परेका रुप ज्योति र उनकी छोरी सूरुचीविरुद्ध जिल्ला अदालत काठमाडौंले पहिलोपटक तीन दिनको र दोस्रोपटक पाँच दिन म्याद थप गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्