
-मानबहादुर वली/ इमेज
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले फुटपाथका पसल हटाउन सुरु गरेसँगै सडक फराकिलो बन्ने भएको छ । फुटपाथमा व्यवसाय चलाइरहेका पसलका कारण सडक साँघुरो र अव्यवस्थित भएको भन्दै नगरपालिकाले डोजर लगाएरै हटाउन थालेको हो ।
वीरेन्द्रनगर बजार क्षेत्रमा सडकको क्षेत्राधिकार मिचेर व्यवसाय सञ्चालन हुँदा सडक साँघुरो मात्र बनेको छैन सडक र सहरको सौन्दर्यतामा समेत ह्रास आएको छ । नगरपालिकाको बारम्बार अनुरोध गरे पनि नमानेपछि डोजर लगाएर फुटपाथ हटाउन थालिएको हो ।
यता फुटपाथमा पसल व्यवसाय सञ्चालन गरिरहेका भने नगरपालिकाले व्यवस्थापनमा ध्यान नदिएरै हटाउन लागेको देवीराम खत्रीको आक्रोश छ । नगरपालिका कार्यालयले बजार क्षेत्रका मंंगलगढीचौक, वीरेन्द्रचोक, गणेश चोक, घण्टाघर चोक, एयरपोर्टचोक, क्याम्पसलाइन लगयातका क्षेत्रको सडक पेटीमा लामो समयदेखि व्यवसाय गरेर वस्दै आएका फुुटपाथ हटाउन लागिएको हो ।
नगरपालिकाले व्यवसायलाई व्यवस्थापन गर्ने समय नै नदिएर एक्कासी डोजर चलाउँदा रोजीरोटी नै धरापमा परेको अर्का फुटपाथ व्यवसायी बसन्त शाहको भनाइ छ । बारम्बार सूचना प्रकाशन गरी पसल हटाउन आग्रह गर्दा व्यवसायीले नमानेपछि डोजर चलाउन बाध्य भएको नगरपालिकाले बताएको छ ।
फुटपाथका पसल व्यवसायीका लागि नगरपालिकाले व्यवस्थापनको तयारी गरिरहेको वीरेन्द्रनगर नगरपालिकाका अनुगमन शाखा प्रमुख यमलाल गिरीको भनाइ छ । सडक क्षेत्रमै अव्यवस्थित रुपमा सामान राखेर बिक्री गर्दा आवतजावत गर्नेहरुलाई मात्र असहज भएको थिएन सडक नै कुरुप देखिएको थियो ।
जसका कारण फुटफाथ व्यवसायी हटाउने कदमको नगरवासीले पनि स्वागत गरेका छन् । तर त्यसैबाट दैनिक गुजारा गरिरहेका व्यवसायीलाई पनि विकल्प दिनुपर्ने उत्तिकै आवश्यकता छ ।
प्रतिक्रिया दिनुहोस्