१६ जेष्ठ २०८१, बुधबार | Wed May 29 2024


सरकारविरुद्ध मजाक बनाइएका सबै काम फत्ते गरेर देखाइन्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, साउन १२ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेससँग कुनै एजेन्डा नभएकाले ‘अधिनायकवाद आयो’ भन्दै हिँडेको आरोप लगाएका छन् ।

शनिबार राजधानीमा प्रोगेसिभ इन्जिनियरिङ प्रोेफेसनल्स एसोसिएसन नेपाल र नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठनको एकता घोषणासभामा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेस डा. गोविन्द केसी र गंगामाया अधिकारीको पुच्छर समातेर वैतरणी पार गर्न खोजेझैं अघि बढेको आरोप लगाए ।

सरकारलाई बदनाम गर्न, मजाकमा उडाउन खोजिएको भन्दै उनले विरोधीहरुलाई सुध्रन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले देशमा अब तुइनको अन्त्य भइ आँशु र दुःखका दिन सकिएको बताए । आगामी दुई वषभित्र काठमाडौंका सबै सडक हेर्न लायक बनाउने प्रतिबद्धता पनि उनले जनाए ।

रेल ल्याउने, तुइन हटाउने कुरा गर्दा कागजको डुंगा बनाएर सरकारको मजाक उडाइएको भन्दै उनले यी सबै काम सरकारले फत्ते गरेर देखाउने जिकिर गरे ।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले शासक मानसिकता भएकाहरुलाई कम्युनिस्ट एकता मन नपरेको टिप्पणी गरे ।

देशलाई आर्थिक विकासतिर लैजाने संकल्पलाई जनताले अनुमोदन गरेकाले आफूहरुलाई अघि बढ्न सहयोग गरेको उनको भनाइ थियो ।

प्रोगेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल (पिन) एकता घोषणा भएको नेकपाको पहिलो संठगन हो ।