
बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डको कार्य प्रगति हेर्न सरकारी प्रतिनिधिमण्डलले निरीक्षण गरेको छ ।
करिडोरको भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्रहादुर कार्की, सडक विभागका महानिर्देशक केशव शर्मा, अर्थ मन्त्रालयका सहसचिव उद्धवकुमार खत्री, रक्षा मन्त्रालयका सहसचिव जीतबहादुर सुनुवारलगायतका टोलीले स्थलगत निरीक्षण गरेको हो ।
२०७० वैशाखमा नेपाली सेनाको निर्माण कार्यदलले जिम्मा लिएको सडकको ट्रयाक निर्माण सम्पन्न भएको छ । बागलुङ खण्डको ३५ किलोमिटर सडक निर्माण असार मसान्तसम्म सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरिने कालीगण्डकी करिडोर निर्माण कार्यदलका इञ्जिनीयर रेशमीराज भट्टराईले जानकारी दिए ।
करिडोरको मालढुङ्गा–बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडकलाई १० मिटर चौडा गर्ने काम सम्पन्न गरेको सेनाले पुनः विमानस्थलदेखि जैमिनी नगरपालिका–६ सम्म १० किलोमिटर सडक चौडा पार्ने काम सुरु भएको छ ।
बजेट व्यवस्थापन गर्नका लागि भौतिक तथा पूर्वाधार, अर्थ मन्त्रालय र सडक विभागको टोली सडक निरीक्षणका लागि आएको हो ।कालीगण्डकी करिडोरको स्तरोन्नतिका लागि गत आर्थिक वर्षमा सरकारले २० करोड रुपैयाँ विनियोजन गरेको थियो ।
२०७६ असारसम्म बागलुङको सबै खण्ड स्तरोन्नति गरी सडक विभागलाई हस्तान्तरण गर्ने गरी सेनाको जिम्मा लगाइएको हो । बागलुङ खण्डको ट्रयाक खोल्न ४३ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ ।
चीनको कोरलादेखि भारतको सुनौलीसम्म ४ सय ३५ किलोमिटर लामो यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारत जोड्ने छ ।
प्रतिक्रिया दिनुहोस्