
-दुर्गा उपाध्यायको/इमेज
कञ्चनपुर । पुनर्वास नगरपालिकास्थित सीमाक्षेत्र भारतीय सुरक्षाकर्मी (एसएसबी) ले कब्जा गरेको चार वर्ष बितिसकेको छ ।
पटकपटक विवादित बन्दै आएको पुनर्वास नगरपालिका ९ मा पर्ने १९५ नम्बर सीमा स्तम्भलाई एसएसबीले चार वर्षदेखि कब्जा गरेपनि नेपाली तर्फबाट भने कुनै पहल भएको छैन ।
नेपाल र भारत दुवै देशको साझा सीमा स्तम्भ कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा पर्ने (१९५) मा भारतीय सुरक्षाकर्मीले विगत चार वर्षदेखि एकोहोरो कब्जा गरेको छ ।
एसएसबीले नेपाली नागरिकलाई मात्रै नभइ जनप्रतिनिधि र सुरक्षाकर्मीलाई समेत उक्त क्षेत्रमा जान रोक लगाएको छ ।
सीमास्तम्भसम्म जान सुरक्षाकर्मीले जिल्ला प्रशासन कार्यालयमार्फत भारतीय उच्च अधिकारीको अनुमति लिनु पर्ने बाध्यता छ ।
गत वर्ष जेठ १३ गते हात्तीको आतंक नियन्त्रण गर्न स्थानीय सरकारले १९० देखि १९५ नम्बर सीमास्तम्भसम्म तारबार लगाउँदा १९४ देखि १९५ नम्बरसम्मको भूभाग भारतको रहेको दावी गर्दै एसएसबीले रोक लगाएको थियो ।
त्यस यता भारतीय पक्षले सो क्षेत्रमा खेती गर्न मात्रै होइन अवलोकनकै लागि जाँदासमेत नेपालीहरुको आवागमनमा अवरोध गर्दै दुःख दिने गरेको पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नारायणप्रसाद जैसी बताउँछन् ।
कञ्चनपुरको १७१ देखि १९४ नम्बर सीमास्तम्भसम्म कुनै विवाद छैन । तर, १९४ देखि १९७ नम्बरसम्मको सीमा क्षेत्रलाई भने विवादित क्षेत्रका रुपमा लिने गरिन्छ ।
वडा अध्यक्ष जैसीका अनुसार १९५ नम्बर सीमास्तम्भ प्यारा तालको पारीपट्टी पर्ने भएकाले सिधै सीमास्तम्भमा जान सकिँदैन ।
त्यहाँ पुग्न कि प्यारा ताल कटेर पारी जानुपर्ने हुन्छ, कि त १९४ नम्बर सीमास्तम्भ नजिक भारतीय भूमीमा रहेको काठे पुलको प्रयोग गरेर जानुपर्दछ । तर पुलकै पारीपट्टी नजिकै एसएसबीको क्याम्प छ ।
वारीपट्टी कोही जानासाथ सोधपुछका लागि एसएसबी नेपाली भूमीमै आउने गर्दछन् । यता, १९५ नम्बर सीमास्तम्भ ढलेको अवस्थामा रहेको र १९६ नम्बर सीमास्तम्भ हराएकाले १९४ देखि १९७ नम्बरसम्मको सीमाक्षेत्रलाई भारतीय पक्षले आफ्नो भूमीमा पार्न खोजेको स्थानीय बताउँछन् ।
उता, पुर्नवास नगरपालिका–४ आनन्द बजार नजिक रहेको सुकेको डुम्रीको रुखलाई २०० नम्बर सीमास्तम्भ दावी गर्दै आएको भारतले अहिले आनन्द बजार छेउकै सिमलको रुखलाई सीमास्तम्भ दावी गरिरहेका छन् ।
सर्भेका बेला अग्लो ठाँउबाट नक्सांकन गर्न सजिलो हुने भन्दै छनोट गरिएको ठाँउमा रहेको सिमलको रुखलाई भारतले सीमास्तम्भ दाबी गरेको हो ।
स्थानीयका अनुसार डुम्रीको रुखभन्दा करिब तीन सय मिटर परसम्म नेपाली भूमि पर्छ भने सिमलको रुखभन्दा एकसय मिटर पर नेपालीले भोगचलन गर्दै आएको जमिन छ ।
कञ्चपुरमा ३ सय ८० सीमास्तम्भ रहेका छन् । जसमध्ये ३६ वटा हराएका छन् भने २ सय १७ पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् । त्यस्तै १ सय २७ सीमास्तम्भ सामान्य मर्मत गर्नुपर्ने अवस्थामा छन् ।
सरकारले नेपाल भारत सीमा विवाद टुङगो लगाउन दुवै देशको संयुक्त सर्भे टोली पठाएर सीमा क्षेत्रको नक्सांकन गरेपनि टोलीले हराएका सीमास्तम्भ निर्माण गर्न नसक्दा सीमा विवाद भने ज्यूँका त्यूँ छ ।
प्रतिक्रिया दिनुहोस्