३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


युएस बंगला विमान दुर्घटनाः ‘मुद्दा प्रभावित पार्ने प्रयास’


0
Shares

काठमाडौं, कात्तिक २६ । दुई वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणकाक्रममा दुर्घटनामा परेको युएस बंगला एअरलाइन्सका दिवंगत यात्रीका परिवारले क्षतिपूर्ति रकम प्रभावित गर्ने प्रयास गरिएको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले कम्पनीका नेपाल प्रतिनिधिले मुद्दा प्रभावित पार्ने प्रयास गरेको आरोप लगाएका हुन् ।

पीडित परिवारले कम्पनीको नेपालस्थित प्रतिनिधि अधिवक्ता देवेन्द्र प्रधानले मुद्दा प्रभावित तुल्याउने प्रयास गरेको आरोप लगाए ।

प्रधानले पत्र लेखी न्यायालयमा विचाराधीन मुद्दाको सम्बन्धमा अनुचित दबाब दिइ न्यायिक प्रक्रियाकै दुरुपयोग गर्ने प्रयास गरेको उनीहरुले बताएका हुन् ।

पत्रकार सम्मेलनमा पीडितमध्येका सातजना यात्रीहरुको परिवारका तर्फबाट विदुरमान श्रेष्ठले ‘विपक्षी वकिल देवेन्द्र प्रधानलाई आउने मुद्दा फैसलाकाबारेमा कसरी थाहा भयो ?’ भन्ने प्रश्न गरे ।

पीडित परिवारले युएस बंगलाको आधिकारिक कानुनी प्रतिनिधि प्रधान एन्ड एसोसिएट्स र सन्चालक देवेन्द्र प्रधानको वारेस बदर गरी विमान कम्पनीले नयाँ कानुन व्यवसायी उपस्थित नगराएसम्म विचाराधीन मुद्दाको कारबाहीसमेत स्थगित गर्न पनि माग गरेका छन् ।

पीडित सात परिवारले कुल दुई अर्ब रुपैयाँभन्दा बढी क्षतिपूर्ति दाबी गरी जिल्ला अदालत काठमाडौंमा गएको साउनमा मुद्दा दर्ता गरेका थिए ।

२०७४ फागुन २८ गते उक्त विमान दुर्घटना भएको थियो । विमान दुर्घटनामा परी ४९ जना यात्रीले ज्यान गुमाएका थिए ।