३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


विश्व सम्पदामा सूचीकृत हुने प्रक्रियामा रामग्राम स्तुप क्षेत्र, पूराना प्रमाण संकलन थालियो


0
Shares

 हरि शर्मा /इमे

नवलपरासी । विश्वसम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको नवलपरासीको रामग्राम स्तुप क्षेत्रमा पुरातात्विक प्रमाण संकलन गर्न सर्वे परीक्षण सुरु भएको छ । यसअघि पनि पटकपटक अनुसन्धान गरिएको यस क्षेत्रमा थप पुरातात्विक प्रमाण संकलन गर्न अनुसन्धान सुरु गरिएको हो ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ७ उजैनीमा अवस्थित रामग्राम स्तुप क्षेत्रमा गत शुक्रबारबाट चुम्बकीयसहितका चारवटा प्रविधि प्रयोग गरी पुरातात्विक प्रमाणको अनुसन्धान गर्न थालिएको हो । पुरातात्विक सामग्री संकलन गर्न ‘अघर, स्थलगत सर्वेक्षण, जियो फिजिक्स र नक्सांकनबाट काम सुरु गरिएको हो ।

नेपालीसहित ३ जना विदेशीहरुको विज्ञ टोलीले १० दिनसम्म गरिने अनुसन्धानबाट विश्व सम्पदासूचीमा राख्न आवश्यक पर्ने प्रमाण जुटाउने लुम्बिनी विकास कोष पुरातत्व शाखा प्रमुख हिमाल कुमार उप्रेतीले जानकारी दिए ।

सर्वेपछि यस क्षेत्रमा प्राचीन विहार, मानव बस्ती अन्वेषण, बुद्धकालमा प्रयोग भएका सामग्रीको अवस्थाका बारेमा पत्ता लाग्ने छ । परीक्षणपछि त्यसको प्रतिवेदन तयार गरी सरकारलाई बुझाइने छ । प्रमाणका आधारमा केही महिनापछि उत्खनन् सुरु हुने टोलीले जनाएको छ ।

यसअघि सन् १९९७, १९९९ र २०१८ मा पनि सर्वे सुरु गरिएको थियो । सर्वेमा बुद्धकालीन अन्वेषणहरु फेला परेका थिए । त्यसकै आधारमा सन् १९९९ देखि २००४ सम्म पुरातत्वविद् शुक्रसागर श्रेष्ठको नेतृत्वमा चार पटकसम्म उत्खनन् गर्दा मौय र गुप्तकालीन सामाग्रीहरु फेला परेका थिए ।

त्यसैगरी २०१८ मा गरिएको सर्वेमा ठूलो बिहार, पोखरीलगायतका बुद्धकालीन सामाग्रीहरु फेलापरेपछि थप प्रमाण संकलन गर्न अहिलेको सर्वे सुरु गरिएको हो । रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रकृयामा रहेको रामग्राम स्तुपको पछिल्लो सर्वेले त्यसलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बेलायत युनिभर्सिटी, पुरातात्विक विभाग र लुम्बिनी विकास कोषका विज्ञहरुबाट भू–भौतिक सव प्रविधिमार्फत् अनुसन्धान सुरु गरिएको हो ।