
ध्रुव भट्टराई /ईमेज
मोरङ । पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकका झण्डै ३० हजार किसानहरुले भोग गर्दै आएको जग्गामा दोहोरो स्वामित्व देखिएको छ । वर्षौदेखि भोगचलन गर्दै आएकाहरुसँग जग्गाधनी प्रमाणपत्र नभएकाले जग्गापूर्जा भएकासँगको विवाद झन् पछि झन् जटिल बन्दै गएको हो ।
मोरङको पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका विभिन्न क्षेत्रमा २०३२ सालमा विभिन्न ठाँउबाट सट्टाभर्नामा जग्गा पाएका र तत्कालीन समयमा जंगल फँडान गरी बसेकाहरुबीच एउटै जग्गामा दोहोरो स्वामित्व छ ।
जग्गाधनी प्रमाणपत्र भएकाले भोगचलन गरेका छैनन् भने लामो समयदेखि भोगचलन गर्दै आएकासँग जग्गाको पूर्जा नै छैन । तर दुवैपक्षले जग्गा नछाड्ने अडान राख्दै आएका छन् ।
लामो समयदेखिको विवाद टुंग्याउने आवश्वासन दिएर जनप्रतिनिधिले आफूहरुलाई चुनाव जित्ने भ¥याङ् मात्र बनाएको शनिश्चरेका स्थानीय बालकुमार मगरको गुनासो छ । पञ्चायतकालदेखि कायम जग्गाको दोहोरो स्वामित्वको विवाद अहिले झन चर्किरहेको छ ।
२०३२ सालदेखि बसोवास गर्नेले पनि अहिलेपनि जग्गाधनी प्रमाणपूर्जा पाउन सकेका छैनन् । यस क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका नेकपा नेता भानुभक्त ढकाल कानुनमन्त्री समेत रहेका छन् । तर आफूहरुको समस्या समाधानमा गम्भीर नभएको स्थानीयको गुनासो छ ।
पथरी–शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका करिब ३० हजार किसानहरु दोहोरो स्वामित्वको मारमा परेको सुकुम्बासी समस्या संघर्ष समितिका संयोजक जहरमान लिम्बु बताउँछन् । जग्गाको मूल्य पनि उच्च रहेको यस क्षेत्रका अधिकांश स्थानमा पक्की घरहरु निर्माण भएका छन् ।
जग्गा भोग गर्दै आएकाहरुले तत्कालीन समयमा घरधुरी कर तिरेको प्रमाण सुरक्षित राखेका छन् । जग्गाको स्वामित्वसम्बन्धी विवाद हुँदाहुँदै पनि यहाँ घरजग्गाको बेचबिखनसमेत हुँदै आएको छ । स्थानीयले भने स्थानीयस्तरबाट नभई केन्द्रबाटै उच्चस्तरीय आयोग बनाउन माग राख्दै आएका छन् ।
पथरी शनिश्चरे नगरपालिकाका नगरप्रमुख किशोर राई पनि दीर्घकालीन रुपमा समस्या समाधान गर्न संघीय सरकारले पहल गर्नुपर्ने धारणा राख्नुहुन्छ । उक्त समस्या समाधानका लािग सरकारले कैयौं आयोग बनायो तर कुनैले पनि निकास दिन सकेका छैनन् । वर्षौँदेखिको समस्या अहिले पनि जस्ताको त्यस्तै छ ।
प्रतिक्रिया दिनुहोस्