३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


सिन्धुपाल्चोककै ठूलो गौराति मेला आजबाट सुरु


0
Shares

सिन्धुपाल्चोक । जिल्लाकै ठूलो मेला गौराति भिमसेनको मेला आजबाट सुरु भएको छ । हरेक वर्ष कात्तिक पूर्णिमाका दिन सुरु हुने मेला पञ्चमीसम्म लाग्दछ । २०५३ सालमा पुनः निर्माण गरी तत्कालीन राजा स्व.वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भको अनावरण गरिएकाले पनि यो मन्दिर चर्चामा रहेको छ ।

चौताराको पुरानो बजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगेर पूर्णिमाको रात गौंराति मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि प्रतिपदाको दिन पुनः फर्काइने प्रचलन १२ सय वर्षदेखि चलिआएको छ ।

मन्दिरमा विसं १६४२ मा चढाएको ढलौटको घन्टा हालसम्म रहेको आधारमा पनि ४२५ वर्ष पहिलेदखि मेला लाग्दै आएको स्पष्ट हुन आउँछ । गौराति मन्दिरमा भाकल अनि पूजा आजा गरेमा आफ्नो मनोकांक्ष पूरा हुने विश्वासकै कारण यहाँ जिल्ला बाहिरबाट समेत भक्तजन पुग्ने गरेका छन् ।

मन्दिर सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तर–पश्चिममा रहेको छ । समुद्री सतहबाट एक हजार ८ सय २८ मिटरको उचाइमा रहेको उक्त स्थानबाट मनोरम दृश्यावलोकन समेत गर्न सकिन्छ ।