
डडेल्धुरा । स्थानीय भाषामा देहिजाँतको रुपमा मानिने सुदूरपश्चिमेली जनताको आस्थाको केन्द्र उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लागेको छ ।
डडेल्धुरा सदरमुकामबाट ५ किलोमिटर मात्र टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गमा रहेको महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा कात्तिक पूर्णिमाको राति विधिवत पूजा सम्पन्न गरेपछि भोलिपल्ट ठूलो मेला लाग्ने गर्दछ । मेलामा सुदूरपश्चिमका नौ वटै जिल्लालगायत सिमावर्ती भारतबाट पनि दर्शनार्थी आएका छन् ।
परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा शिलामा हलो अड्किएको र त्यहाँबाट निस्किएको रगतलाई आफूले खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भएर किसानलाई दर्शन दिएको किम्वदन्ती छ ।
त्यसै बेलादेखि सो स्थानमा कात्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा रहिआएको जनश्रुति छ । उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति हुने, मोक्ष र मनोकामना पूरा हुने विश्वास गरिन्छ । यो मेलालाई सुदूरपश्चिमबासीले पर्व कै रुपमा मनाउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्