२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


‘फू’ गरेर ढल्ने सरकार होइन, अनावश्यक खोचे नथाप्नोस् : नारायणकाजी


0
Shares

बर्दिवास, साउन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको मुलुकको कार्यभार विकास र समृद्धि भएको बताएका छन् ।

शनिबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले सबैको योगदान समृद्धि र विकासमा केन्द्रित हुनुपर्ने बताए ।

सो अवसरमा पार्टीका आधारभूत तह अब चाँडै एकीकरण हुने जानकारी पनि श्रेष्ठले दिए ।

प्रवक्ता श्रेष्ठले भने–‘मधेसका मुख्य मुद्दा ठम्याउनोस् । ती मुद्दाको सम्बोधनका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारलाई घच्घच्याउनोस् ।’

मधेसका सर्वसाधारण जनताको मुद्दा अहिले आफ्नो पार्टीले उठाएर सम्बोधन गर्नसके ठोस उपलब्धि हुने उनको भनाइ थियो ।

राजनीति र अवसरसँग जोडिएका मधेसका धेरैजसो मुद्दा अब राष्ट्रिय सरोकारका विषय बनिसकेको श्रेष्ठको भनाइ छ ।

मुलुकको विकास र समृद्धिको अभियानको थालनी मधेसबाटै थालिए लक्ष्य छिट्टै भेटिने श्रेष्ठले बताए ।

अहिले संघीय, ६ ओटा प्रदेश र बहुसंख्यक स्थानीय तहमा पार्टीको नेतृत्वको सरकार भएकाले काम गरेर देखाउन उपयुक्त अवसर भएको श्रेष्ठले बताए ।

विपक्षी दललाई ‘फू’ गरेर ढल्ने सरकारझैं गरी अनावश्यक खोचे थाप्ने र बखेडा ओछ्याउने काममा नलागी रचनात्मक विपक्षीको भूमिका देखाउन श्रेष्ठले आग्रह गरे ।

भेलामा जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्य, जिल्लाका सबै स्थानीय तहमा तत्कालीन एमाले र माओवादी केन्द्रमा आवद्ध कार्यकर्ता र जनवर्गीय संगठनका नेताको सहभागिता छ । रासस