
डडेल्धुरा, कात्तिक २५ । डडेल्धुरामा अनशनरत् डा. गोविन्द केसीलाई काठमाडौं लैजाने सरकारी प्रयास सोमबार असफल भएको छ ।
केसीको मागप्रति सरकारी धारणा आउनुपर्ने आवाज उठेपछि उनलाई लिन डडेल्धुरा आएको नेपाली सेनाको हेलिकोप्टर रित्तै फर्किएको छ ।
काठमाडौंबाट सरकारको कुनैपनि प्रतिनिधि नआएको र मागप्रति कुनै सुनुवाइ नगरेको भन्दै डा. केसीले डडेल्धुरा नछाड्ने अडान लिएका हुन् ।
त्यसअघि, आजै बसेको नागरिक समाज, जिल्लाका संघ–संस्था, पेसाकर्मी, सन्चारकर्मी, राजनीतिक दलका प्रतिनिधिहरुसहितको सर्वपक्षीय बैठकले पनि डा. केसीलाई जिल्लाबाहिर लैजान नदिने निर्णय गरेको थियो ।
सर्वपक्षीय बैठकले केसीको माग पूरा हुनुपर्ने अडान राखेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।
बैठकको निर्णय प्रमुख जिल्ला अधिकारी पौडेलमार्फत् नै काठमाडौं पठाइएको छ ।
स्वास्थ्य अवस्था खस्कँदै
डा. केसीको अनशनको सोमबार आठौं दिन हो । उनको स्वास्थ्य अवस्था दिनानुदिन खस्कँदै गएपछि सरकारले हेलिकोप्टरमार्फत् उनलाई जबर्जस्ती काठमाडौं लैजान खोजेको थियो ।
अनशनको पाँचौं दिन शुक्रबार स्वास्थ्यमा समस्या आएपछि डा. केसीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो ।
समर्थनमा प्रदर्शन
डा. केसीको समर्थन गर्दै सोमबार डडेल्धुरामा व्यापक प्रदर्शन गरिएको छ ।
प्रदर्शनकाक्रममा केसी समर्थकहरुले सोमबार जिल्लामा सम्पूर्ण यातायातका साधन ठप्प पारेका छन् ।
उनीहरुले जिल्लाका विभिन्न चोकमा बसेर डा. केसीको समर्थनमा प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्