३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


डोजर प्रकरणः प्रतिवेदन बुझाउन ढिलाइ


0
Shares

बैतडी, कात्तिक २५ । यही कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकमा डोजरले महिला हुत्याएपछि गठन भएको छानबिन समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ ।

छानबिन समितिको थपिएको म्याद सकिएको पनि एक हप्ता बितिसक्दासमेत जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले अझै प्रतिवेदन बुझाउन सकेको छैन ।

कात्तिक ५ गते २४ घन्टाको समयसीमा राखेर सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको संयोजकत्व पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो ।

उक्त समयसीमाभित्र छानबिन समितिले प्रतिवेदन बुझाउन नसकेपछि थप पाँच दिनको म्याद थपिएको थियो । तिहारको बिदापछि पाँच दिनको म्याद राखिएको थियो ।

तर, उक्त समयसीमामा पनि छानबिन समितिले प्रतिवेदन नबुझाउँदा नागरिकले आशंका गर्न थालेका छन् ।

यसअघि, केही दिनअगाडि नेपाली कांग्रेसको केन्द्रीय छानबिन समितिले सत्ता र शक्तिका आडमा घटना भएको निष्कर्षसमेत निकालेको थियो ।

सडक निर्माण गर्दा दुई पक्षबीच झडप भएको थियो । झडपकैक्रममा डोजरचालकले एक महिलालाई हुत्याइएको थियो ।

छानबिन समितिले गहनरूपमा सबै कुरा समेट्नुपर्ने भएकाले प्रतिवेदन बुझाउन ढिलाइ भएको जनाएको छ ।

समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले प्रतिवेदनको ९० प्रतिशत काम सम्पन्न भएकाले केही दिनभित्रै प्रतिवेदन बुझाउने तयारी रहेको बताए ।

समितिले स्थलगतरूपमा दुवै पक्षसँग छलफल गरेको, वस्तुगत अवस्था नगरपालिकासँग बुझेको छ ।

उनले भने–‘पीडितपक्षले आफ्नो जग्गामा सडक खन्न नदिने भनी उच्च अदालतमा मुद्दा हालेकाले प्रतिवेदन बुझाउन ढिलाइ भएको छ । त्यसको पनि समस्या समाधानतर्फ छ ।’

‘स्वास्थ्यमा बेलाबेलामा समस्या’

प्रमुख जिल्ला अधिकारी बिदामा रहेकाले उनी आउनेबित्तिकै प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी छ ।

छानबिन समितिले जिल्ला प्रशासनलाई प्रतिवेदन बुझाउने अनि प्रशासनले प्रदेश सरकार, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालयलाई पठाउने जनाइएको छ ।

दशरथचन्द नगरपालिका–९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा डोजरले एक महिलालाई हुत्याएपछि घटनाले ठूलो रूप लिएको थियो ।

डोजरले हुत्याउँदा स्थानीय गौरी जोशी घाइते भएकी थिइन् । गौरी कोहलपुर र भारतमा उपचारपछि घर फर्किसकेकी छन् । तर, अझैपनि गौरीको स्वास्थ्यमा बेलाबेलामा समस्या देखापर्ने गरेको परिवारले जनाएको छ ।

महिला हुत्याउने डोजरचालक किशोर बोहरा, डोजरचालकलाई उक्साएको आरोपमा डोजरमालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

यसका साथै सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीविरुद्ध सडक निर्माण गर्ने पक्षले किटानी जाहेरी दिएपछि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । रासस