
कविराज घिमिरे/ईमेज
धनकुटा । मगर समुदायको बाहुल्यता रहेको धनकुटाको चौबिसे क्षेत्र यतिबेला हुर्रा नाचमय भएको छ । मगर समुदायबीच खुसी र रमाइलो साटासाट गर्ने यो नाच तिहारको औंसीसगै सुरु भएर पूर्णिमासम्म चल्ने गर्दछ ।
हुर्रा नाच मगर समुदायले गाउने गीत गाउँदैं नाच्ने गरिन्छ । यतिबेला धनकुटाका अधिकांश मगर बस्तीमा गीतको तालमा स्थानीयले रातदिन नभनी हुर्रा नाच नाच्ने गरेका छन् ।
यो नाचको उद्गम स्थल समेत धनकुटाको चौबिसे क्षेत्रलाई लिने गरिन्छ । जसले गर्दा पनि धनकुटामा यो नाचको रौनक अलि बढिनै पाइन्छ । अहिले भने धनकुटाबाट बसाई सरेर तथा विवाह गरेर अन्यत्र गएका ठाँउमा समेत हुर्रा नाच नाच्ने चलन रहेको नेपाल मगरजाती संघका केन्द्रिय अध्यक्ष कबिराज मगर बताए ।
यो नाचको उद्गम क्षेत्र चौबिसेमा त यो बर्ष गाँउपालिकाले हुर्रा महोत्सव नै आयोजना गरेको छ । मगर जातिको भाषा, संस्कृतिको संरक्षण, सम्बद्र्धन प्रबद्र्धन तथा पर्यटक आकर्षित गर्न महोत्सव आयोजना गरिएको गाँउपालिका उपाध्यक्ष यज्ञ कुमारी रुचाल बताउँछिन् ।
हुर्रा नाच तिन कदम पछाडी तथा तिन कदम अगाडि तथा गोलो घेरमा नाच्दा दुइ कदम घुम्दै बासुरी झ्याली तथा मादलको तालमा नाच्ने गरिन्छ । हातमा हात समाएर खुट्टाको समेत एउटै चाल बनाइ नाच्ने गरिन्छ ।
आफ्नो संस्कृति जोगाउन तथा यो नाच नाच्दा शारिरिक रुपमा समेत फाइदा हुने भएकाले पछिल्लो समय युवा पुस्तामा समेत यो नाच निकै लोकप्रिय बन्दै गएको स्थानीय योगेस मगर बताउँछन ।
अन्य जातिय नाचको तुलनामा यो नाच नाच्न सजिलो हुने भएकाले मगर समुदाय बाहेक अन्य समुदायका ब्यक्तिले समेत यो नाच नाचेर मनोरञ्जन लिने गरेका छन् । सुरुवात समयमा तिहारमा देउँसी सैगै तिन दिनमात्र नाचिने यो नाच अहिले भने तिहारको औसीबाट सुरु गरेर पुर्णिमासम्म नाच्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्