
दीपक श्रेष्ठ र उत्तम मानन्धर (ईमेज)
ललितपुर । पाटनको कृष्ण मन्दिरमा मात्र देखाइने जात्रा हो कात्तिक नाच । मल्लकालीन इतिहास बोकेको यो नाचले विष्णु पुराणमा भएका विभिन्न नृसिंह अवतारको प्रतिविम्ब गर्छ ।
मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिन्छ ।
विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित यो नाचमा साताभर पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरू प्रस्तुत गरिन्छ । उक्त डवलीलाई कात्तिक डवली पनि भनिन्छ ।
१६९७ मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरू तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर सो नाच चलाएका थिए ।
सुरुमा सो नाच कृष्णलिलामा आधारित थियो । त्यतिबेला श्री बराह र श्री नरसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्ष कात्तिक महिना कात्तिक डबलीमा आठ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो ।
यो नाच २००७ सालको परिवर्तनपछि दुई दिनमा सीमित हुन पुगेको थियो । अहिले केही दिन लम्ब्याइएको छ ।
१७२३ मा राजा श्रीनिवास मल्लले चतुर मानिसको कथा प्रस्तुत गरे जसले प्रदर्शनलाई मनोरञ्जन प्रदान गर्ने गर्दथ्यो ।
सात वटा कथा समावेस गरेर सञ्चालन गरिने कात्तिक नाचमा नैतिक सन्देशहरु पनि रहेका छन् । अविश्वासी पत्नी, एउटा बाख्रोको राजकुमार, ब्राहमणलाई चलाखी गर्दै, कानको बाली बेच्ने, बद्नाम नदी पार गर्ने, दुर्भाग्यपूर्ण बाथहस र सबै भन्दा ठूलो मूर्ख रहेका छन् ।
सिद्धिनरसिंह मल्लले पाटनमा कृष्ण मन्दिर बनाइसकेपछि यो नाच सुरु गरेका हुन् । नेपाल संवत् ७६१ देखि यो नाच चलिरहेको छ ।
नेपालको सबैभन्दा लामो नाच महोत्सवका रुपमा यसलाई लिइन्छ। अहिले यो नाच कात्तिक नाच प्रबन्ध समितिले सञ्चालन गर्ने गर्छ ।
यो नाचको इतिहास अनुसार देशमा पूरै शान्ति छाएको थियो । तर जनताको मुहारमा भने चमकै थिएन । सरसल्लाह गर्दा पुरोहितले नरबली दिएमात्र सुख हुने उपाय सुझाए ।
त्यही नरबली छल्नका लागि विष्णुको दश अवतारमध्ये बराह र नृसिंहको अवतारले गर्ने वधलाई नाचका रुपमा देखाए हुने उपाय निकालिए पछि यो नाच सुरु भएको कात्तिक नाच संरक्षण समितिका उपाध्यक्ष प्रतापधर शर्मा बताउँछन् ।
त्यसपछि स्थानीय व्यक्तिहरुले आफ्नो संस्कृति माँसिदै गएको महसूस गरी आफ्नै पहलमा कात्तिक नाच प्रबन्ध समिति गठन गरे ।
त्यसैको आयोजनामा यो नाच आठ बाट अहिले १२ दिनको बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्