३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


टुँडिखेल अतिक्रमणको विरोधमा उत्रिए नेता, साथ दिन आए हजारौं नागरिक (भिडियो)


0
Shares

-शंकर खनाल र भरत केसी(ईमेज)

काठमाडौं । काठमाडौ उपत्यकावासीहरुले हरेक शनिबार अनधिकृत रुपमा टुँडिखेल कब्जा गरिएको भन्दै विरोधमा अभियान नै संचालन गरेका छन् ।

आज टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर टुँडिखेल लगागतका खुला र सार्वजनिक स्थान अतिक्रमणको विरोधमा अभियान सुरु गरिएको हो ।

काठमाडौंको मुख्य स्थानमा रहेको एकमात्र विशाल खुल्ला स्थान टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिएको छ ।

‘अकुपाई टुँडिखेल’ अभियानले मानव साङ्लो बनाएर खुल्ला स्थान टुंडिखेल घेरिएको हो ।

सांस्कृति तथा प्राकृतिक धरोहर जोगाउन भन्दै उनीहरुले हरियो रिवनले टुंडिखेल घेरेर मानव साङ्लो बनाएर सांकेतिक बिरोध गरेका हुन् ।

पछिल्लो समय टुंडिखेललाई फोहोरमैला थुपार्ने, विभिन्न भौतिक संरचना बनाउनका लागि आवश्यक सामाग्री थुपार्ने स्थानको रुपमा परिणत गरीएको छ ।

अतिक्रमणबाट जोगाउन दबाब दिने उद्देश्यले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गरिएको संयोजक विजय श्रेष्ठले जानकारी दिए ।

विश्व स्वतन्त्रता दिवसको अवसर पारेर टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरुवात गरीएको हो ।

तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जानकारी दिएको छ ।

टुँडिखेललाई कुनै समय एसियाकै ठूलो परेड मैदानको रुपमा लिइन्थ्यो । तर सर्वसाधरणको लागि सधै खुल्ला हुने खुल्ला स्थान टुँडिखेल अहिले सार्वसाधारणको पहुँचमा छैन । बिभिन्न बाहना र नाममा टुंडिखेल अहिले अतिक्रमित भएको छ ।

कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनाइएको छ ।

टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको हो  । टुडिखेलको संरक्षणका लागि स्वस्फूर्त रुपमा नागरिक समाज जुरमुराएको छ ।

त्यसैगरी विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि टुंडिखेल संरक्षण अभियानमा ऐक्यवद्धता जनाएका छन् ।

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधानले अकुपाई टुँडिखेललाई साथ दिएका छन् ।

अकुपाई टुडिखेलमा जनतादेखि जनप्रतिनिधिसम्म सहभागी छन् । उनीहरुले पूर्खाको नासो जनताको हक, टुंडिखेल खाली गरजस्ता नारा लगाउँदै सरकारलाई टँुडिखेल खाली गर्न दबाव दिएका छन् ।

उनीहरुले प्रत्येक शनिवार टुँडिखेल बचाउनका लागि मानवसाङ्लो बनाएर सरकारलाई दबाब दिने भएका छन् ।