
काठमाडौं, कात्तिक २२ । पछिल्लो समय स्वदेशी जुत्ता–चप्पल उद्योगहरुको प्रतिस्पर्धी क्षमता बढ्दै गएपनि यस क्षेत्रमा कालिगढको भने अभाव रहेकोप्रति उद्योगी–व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।
भृकुटीमन्डपमा फुटवयेर म्यानुफ्याक्चर एसोसिएसनको आयोजनामा शुक्रबारदेखि सुरु भएको ‘काठमाडौं विन्टर फुटवेयर बिजनेस एक्स्पो २०१९’ उद्घाटनका बेला उद्योगीहरुले उक्त गुनासो गरेका हुन् ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् स्वदेशी उद्योगहरुलाई केही सहजीकरण गरेसँगै नेपाली उद्योगहरु प्रतिस्पर्धी बन्दै गएको तर जुत्ता उत्पादन गर्न अझैपनि कालीगढको अभाव रहेको उनीहरुको गुनासो छ ।
हाल स्वदेशी जुत्ता–चप्पलले ६० प्रतिशत बजारको हिस्सा ओगटेको दाबी एसोसिएसनको छ ।
सरकारले उचित सहयोग गरे बजार हिस्सा बढाएर निर्यातसमेत गर्न सकिने उद्योगी–व्यवसायीको दाबी छ ।
कालिगढको अभावको कारण आफूहरुले उत्पादन गर्नसक्नेजति पनि उत्पादन नभएको उनीहरुको भनाइ छ ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा सात अर्ब ८३ करोड रुपैयाँको जुत्ता भित्रिएको छ ।
चालू आर्थिक वर्षको तीन महिनामै २४ करोड बढीको जुत्ता आयात भएको विभागको तथ्यांक छ ।
सरकारले प्रवर्द्धनात्मक काम गरिरहँदा पनि आयातमा कमी आउन भने सकेको छैन ।
एसोसिएसनका पूर्वअध्यक्ष होमनाथ उपाध्याय भने नेपालमा खुला सिमानाको कारण जुत्ताको आयात बढेको बताउँछन् ।
भन्सारमा भारतबाट आयात हुने जुत्तामा करको दरमा वृद्धि गरिएपछि स्वदेशी जुत्ता कम्पनीहरु उत्साहित छन् ।
तर, कालिगढको अभावमा भने अझैपनि स्वदेशी उद्योगहरु पूर्ण क्षमतामा सन्चालन हुन सकेका छैनन् ।
मेलामा विभिन्न कम्पनीका गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्