
काठमाडौं, कात्तिक २२ । उपत्यकावासीहरुले हरेक शनिबार अनधिकृत टुँडिखेल कब्जाको विरोधमा अभियान नै सन्चालन गर्ने भएका छन् ।
शनिबार टुँडिखेल वरिपरि मानवसाङ्लो बनाएर टुँडिखेललगायतका खुला र सार्वजनिक स्थान अतिक्रमणको विरोधमा अभियान सुरु गर्न लागिएको हो ।
‘अकुपाइ टुँडिखेल’मार्फत् सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने अभियान थालनी गरेको अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिए ।
भारतले नेपाली भूमि र नेपालमा भूमाफिया तथा राज्यले नै भूमि कब्जा गरेकाले आमनेपाली सबै मिलेर त्यसको प्रतिरोध गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
विश्व स्वतन्त्रताको दिन शनिबारदेखि तीन महिनासम्म संघर्षका कार्यक्रम गर्ने जनाइएको छ ।
टुँडिखेल विगतमा एसियाकै सबैभन्दा ठूलो परेडस्थल, भूमिगत जलको पुनर्भरणको स्रोत, सांस्कृतिक र धार्मिक महत्व बोकेको र दैवीप्रकोपका बेला आश्रय लिने ठाउँ रहेको छ । अहिले बसपार्क, पसलहरु, पार्किङ, भवनहरु बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्