Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


ललिता निवास जग्गा प्रकरणः ४९ जनाविरुद्ध २१ दिने सूचना प्रकाशित, जग्गा सरकारीकरण गरिँदै


0
Shares

काठमाडौं, जेठ २३ । बालुवाटारको ललिता निवासस्थित जग्गा प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंले पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिने अन्तिम सूचना जारी गरेको छ ।

आइतवार गोरखापत्रमा सूचना प्रकाशित गर्दै मालपोत कार्यालयले २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेशअनुसार ती ४९ जनाको घरमा सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा २१ दिने सूचना जारी गरिएको जनाएको छ ।

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र पेश गर्न भनेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।

सूचनामा उल्लेखित विवरण अनुसार सो विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ । उनी र उनको परिवारको नामको २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने कार्यालयको भनाइ छ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने मुख्य अभियुक्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित ४९ जनाको नाममा यो सूचना जारी गरिएको हो ।