
काठमाडौं । व्यवसायी रुपज्योति कंशाकारलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परीसर काठमाडौंको टोलीले सिंगापुरबाट सिल्क एयरमा आएका रुपज्योतिलाई विहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका रुपज्योतीलाई अपार्टमेन्ट व्यवसाय सम्बन्धी एउटा ठगी मुद्दामा रुपज्योतिलाई काठमाडौं जिल्ला अदालतले २०७५ मंसिर २० गते पक्राउ गर्न आदेश दिएको थियो । त्यसपछि उनी काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत गएका थिए ।
तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरेपछि उनलाई प्रहरीको खोजी सूचीमा राखेको थियो ।
ज्योति समूहको लगानी रहेको ल्यान्डमार्क डेभलपर्सका नाममा सर्वसाधारणबाट रकम उठाएर हाउजिङ नदिएको आरोपमा गत वर्ष मंसिरमा पीडितले महानगरीय प्रहरी परिसर काठमाडौंमा सञ्चालक ज्योतिविरुद्ध उजुरी दिएका थिए ।
बाँसबारीमा हाउजिङ बनाएर वितरण गर्ने भन्दै ल्यान्डमार्कले सर्वसाधारणबाट रकम उठाएको थियो ।
प्रहरीमा परेको उजुरीअनुसार ज्योति समूह र त्यसकै अर्को संस्था स्याकार कम्पनीका नाममा ल्यान्डमार्कको सेयर कायम गरी हाउजिङ कम्पनी दर्ता गरिएको थियो ।
कम्पनी दर्तापछि सर्वसाधारणले हाउजिङ बुकिङस्वरूप लगानी गरेका थिए । तर हाउजिङ निर्माण नगरेपछि विज्ञेन्द्रकृष्ण मल्ल प्रहरीमा गएका थिए ।
प्रतिक्रिया दिनुहोस्