
काठमाडौं, कात्तिक २० । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कारागारहरुको अवस्था र सुधारका विषयमा सरोकारवाला निकायसँग छलफल भएको छ ।
बुधबार समितिको कार्यालय सिंहदरबारमा भएको छलफलमा समितिका सदस्यहरुले जीर्ण बनेका कारागारहरुको नयाँ भवन बनाउनुपर्ने, कैदीबन्दीको सजायलाई ध्यानमा राखी माफी दिनुपर्ने र उनीहरुको वृत्तिविकासका कार्यक्रम सुरु गर्नुपर्ने धारणा राखेका थिए ।
यस्तै, आजीवन काराबासको सजाय पाएकाहरुलाई दुर्गम कारागारमा स्थानान्तरण गर्नुपर्ने उनीहरुको धारणा थियो ।
बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले नुवाकोटमा नयाँ कारागार निर्माण सुरु गरिएको र कैदीबन्दीको सिदामा परिमार्जन गरिएको जानकारी दिए ।
गृहसचिव प्रेमकुमार राईले कारागारहरुमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको भन्दै खुला कारागारको अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्याप्त स्रोत–साधनको अभावमा कैदीबन्दीको सुरक्षामा खटिने प्रहरीलाई समस्या रहेको उल्लेख गरे ।
सांसद नवराज सिलवालले क्षमताभन्दा बढी कैदीबन्दीको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय अभ्यास नेपालमा पनि लागू गर्नुपर्ने बताए ।
बैठकमा महान्यायाधिवक्ता अग्नि खरेलले देशका विभिन्न जिल्लामा रहेका कारागारहरुको अवस्थाबारे जानकारी प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्