
प्रकाश लम्साल (इमेज)
बारा, कात्तिक १९ । निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं–निजगढ द्रुतमार्गलगायतका महत्वाकांक्षी राष्ट्रिय गौरवका आयोजनाले एक्कासि उठेको बाराका घर–जग्गा किनबेच हाल स्थीर बनेको छ ।
बैंक तथा वित्तीय संस्थाको ऋणमा लगाम, किन्नेले किनिसकेपछि पुनः बिक्री गर्न भाउ एकाएक बढाउँदा बिक्री शून्य भइ जिल्लामा किनबेच स्थीर बनेको हो ।
वित्तीय ऋणमा लगाम कसेपछि जिल्लामा घर–जग्गा कारोबार नै घटेको छ ।
घर–जग्गा कारोबारीहरु यतिबेला लगानी गरेको बैना डुब्ने र वित्तीय संस्थाको ऋणको साँवा–व्याजको दबाबमा अत्तालिएका छन् ।
नेपाल राष्ट्र बैंकले व्यावसायिक कार्यदक्षता कर कार्यालयबाट परीक्षण गरेरमात्र ऋण दिन परिपत्र गरेपछि यो अवस्था आएको हो ।
फेरि पुरानै मूल्यमा घर–जग्गाको भाउ फर्कनसक्ने अनुमान गर्न थालिएको छ ।
घर–जग्गा व्यवसायीहरुले ठूला आयोजना देखाउँदै बाराका सिमरा, निजगढ, कोहल्बी, पिलुबालगायतका स्थानमा हजारौं विगाह उब्जनी हुने खेत खन्डीकरण गरी बनाइएका जग्गाका टुक्राहरु खरिद–बिक्री ठप्प बनेको छ ।
देशका विभिन्न भागबाट आएका जग्गा कारोबारीको बसाइँ हुने सिमराका सुविधासम्पन्न होटलहरु क्रमशः खाली हुँदै गएको छ ।
ऋणको साँवा–व्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई दबाब दिन थालेपछि एउटा बैंकबाट ऋण लिएर अर्कोको भुक्तानीसमेत गर्दै आएको पाइएको छ ।
असोजमा पारित भूमिसम्बन्धी विधेयकले जमिनको जथाभावी खन्डीकरण रोकेको छ । उपयोगबारे पनि पहिलेभन्दा कडा नियम विधेयकले समेटेको छ ।
जिल्लाका प्रमुख भित्री सहरका टुक्रे जग्गाको भाउ र ठूलो ‘प्लट’को भाउ घटाउन थालिएपनि किनबेचमा सुधारको संकेत न्यून देखिएको छ ।
जग्गा खन्डीकरण गर्न नपाइने कानुनी व्यवस्थाले सहरी क्षेत्रमा जग्गाको माग घट्दो रहेका कारण जमिनको किनबेच ठप्पजस्तै बनेको मालपोत कार्यालय सिमराका प्रवक्ता मनोजकुमार खनालले बताए ।
निर्माण कम्पनी, उद्योगका नाममा बैंकबाट ऋण लिएर जग्गामा लगानी गर्ने प्रवृत्ति बढेका कारण जग्गाको मूल्य आकाशिन पुगेको सरकारी ठहर छ । जुन रोक्ने प्रयासमा सरकार लागेको भन्दै आमसर्वसाधारण भने केही खुसी देखिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्