
डीबी विष्ट (इमेज)
बझाङ, कात्तिक १९ । बझाङमा निर्माणाधीन कालंगा हाइड्रोको सुरुङबाट चारजना मजदुरको शव निकालिएको छ ।
बुंगल नगरपालिकामा निर्माण भइरहेको हाइड्रोको सुरूङबाट सोमबार तीन र मंगलबार एकजनाको शव निकालिएको हो ।
आइतबार दिउँसो सुरुङभित्र काम गर्न पसेका उनीहरु नफर्केपछि खोजी सुरु गरिएको थियो ।
सुरूङभित्र पसेका ६ जनामध्ये दुईजना आइतबारै बाहिर निस्किएका थिए । सास फेर्न गाह्रो भएपछि उनीहरु निस्किए । अरु बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट आएको चारजनाको उद्धार टोलीले तीन मजदुरको शव सोमबार बेलुका निकालेको थियो । थप एकजनाको शव मंगलबार दिउँसो १ः३० बजेतिर निकालिएको प्रहरीले जनाएको छ ।
मृतक
दैलेखको गुराँस गाउँपालिका–३ का ३२ वर्षीय महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका–६ का २८ वर्षीय महेन्द्र साउदको शव सोमबार निकालिएको थियो ।
बझाङको बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामीको शव मंगलबार दिउँसो निकालिएको उद्धार टोलीका प्रमुख एवं सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालले जानकारी दिए ।
अक्सिजनको कमी
धामीको शव सुरुङको प्रवेशद्वारबाट करिब १३ सय मिटर पर फेलापरेको उनले बताए । अरु तीनजनाको शव भने १२ सय मिटर पर फेलापरेको थियो ।
सुरुङभित्र झन्डै ३०० मिटर परसम्म माक्समात्रै लगाएर जान सकिन्छ । त्योभन्दा पर भने अक्सिजनसहित जानपर्ने बताइएको छ ।
सुरुङभित्र अक्सिजनको कमीका कारण उनीहरुको निसास्सिएर मृत्यु भएको कटुवालको भनाइ छ ।
आफूहरुलाई पनि उद्धार गर्दा निकै समस्या भएको उनले बताए । सुरुङभित्र आँखा पोल्ने, रिंगटा लाग्ने र साथमा लिएर गएको अक्सिजन छिटो–छिटो सकिने समस्या आएको उनले जानकारी दिए ।
मृतक चारैजनाको शव ‘पोस्टमार्टम’का लागि जिल्ला अस्पताल बझाङ ल्याइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।
उद्धार टोली
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोली खटिएको थियो ।
सुरुङभित्र भने सशस्त्र प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्र बम, हवल्दार शिवहरि अधिकारी र सहायक हवल्दार ललित खाम्चा गएका थिए ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयसमेत पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्