Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


नेपालको शानदार जित, पवनको ‘अलराउन्ड’ प्रदर्शन, विनोदको अर्धशतक


0
Shares

काठमाडौं, कात्तिक १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व क्रिकेटको सबैभन्दा पुरानो इंग्ल्यान्डको क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्धको एकदिवसीय क्रिकेटमा शानदार जित निकालेको छ ।

ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भयो ।

सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले २०२ रनको सामान्य चुनौती ३७ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

छैटौं विकेटका लागि अविजित ६९ रन जोड्नेक्रममा विनोद भण्डारीले ५२ तथा पवन सर्राफले ३८ रन बनाए । कप्तान ज्ञानेन्द्र भने १० रनमा ‘आउट’ भएका थिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर २ बलमा ‘अलआउट’ हुँदै २०१ रन बनाएको थियो । विल रोड्सले ५४ तथा बिली गोडलम्यानले ५२ रन बनाएका थिए ।

नेपालका लागि पवन सर्राफ र ललितनारायण राजवंशीले समान ४/४ विकेट लिए । करण केसी र अविनाश बोहराले १/१ विकेट झारे ।

यो खेलमा पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने भने खेलेका थिएनन् ।

नेपालले एमसीसीसित अब बुधबारदेखि सुरु हुने तीनदिवसीय खेल खेल्नेछ । त्यसअपछि अन्तिम खेल ट्वेन्टी–२० को हुनेछ ।

यसअघि, आइतबार भएको एकदिवसीय खेलमा एमसीसीले नेपालको १९ वर्षमुनिको राष्ट्रिय टिमलाई ३८ रनले हराएको थियो ।