
चितवन, साउन ११ । काठमाडौंबाट स्याङ्जाको वालिङ जाँदै गरेको एक यात्रीबाहक बस शुक्रबार पृथ्वी राजमार्गअन्तर्गत् चुम्लिङटारबाट त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
मृत्यु हुनेमा दुईजना महिला, पाँचजना पुरुष र एक बालक रहेका छन् ।
जसमध्ये पाल्पाको बेगनास–कालिका गाउँपालिका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँको भानु नगरपालिका–५ का २७ वर्षीय सुमित श्रेष्ठ, तनहुँ, भन्सारकी २७ वर्षीया कमला श्रेष्ठ, काठमाडौंका ३० वर्षीय रबिन गुरुङ र तनहुँ, केशवटारका ४० वर्षीय बाबुराम तिवारीको सनाखत भएको छ । अरु मृतकको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइते भएका १६ जनामध्ये पाँचजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
ना६ख २५०६ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिका–३, चुम्लिङटारबाट त्रिशूली नदीमा खसेको हो ।
सडकछेउमा रहेको ना५ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्