Logo २४ पुस २०८२, बिहिबार | Fri Jan 9 2026


विद्युतीय बस ल्याउने योजना अन्योलमा


0
Shares

काठमाडौं, कात्तिक १७ । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय बस ल्याउने योजना अघि सार्‍यो ।

सोहीअनुरुप सरकारले साझा यातायातलाई विद्युतीय बस ल्याउन गएको असारमा तीन अर्ब रुपैयाँसमेत दियो ।

तर, हालसम्म पनि काठमाडौंमा विद्युतीय सवारी गुड्न सकेका छैनन् ।

सरकारले ३०० ओटा बस खरिद गर्न साझा यातायातलाई अनुमतिसमेत दिइसकेको थियो ।

तर, सरकारले नै साझाले समयमै प्रतिवेदन बुझाउन नसकेको भन्दै विद्युतीय गाडी नल्याउन पत्र नै पठाएर रोक्यो । त्यसपछि विद्युतीय बस खरिद गर्ने योजना थप अन्योलमा परेको छ ।

यता, साझा यातायातले भने सरकारले यो प्रक्रियामा दोषमात्रै लगाएको जनाएको छ ।

साझा यातायातले बनाएको खाका सरकारले नहेरी प्रक्रिया रोक्न पत्र पठाएको उसको भनाइ छ ।

साझासँगको बोर्ड बैठक बस्नुअघि नै ‘यथास्थितिमा राख्नू’ भन्ने सरकारको पत्रले अन्योल थपिएको साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधर बताउँछन् ।

यद्यपि, सरकारसँग मिलेर अघि बढ्नसके यसै आर्थिक वर्षमा विद्युतीय बस सन्चालन गर्न सकिने उनको भनाइ छ ।

काठमाडौंमा निजी क्षेत्रलेसमेत विद्युतीय बस चलाएको छ । विद्युतीय बससम्बन्धी निश्चित मापदन्डको अभाव हुँदा आफूहरुलाई विद्युतीय बस चलाउन असहज बनेको गुनासो निजी क्षेत्रको पनि छ ।

सरकारको असहयोग र मापदन्डको अभावले समस्या भइरहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाको भनाइ छ ।