
काठमाडौं, कात्तिक १७ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्रा. डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आइतबार ‘सर्च कमिटी’को सिफारिसमध्येबाट डा. बाँस्कोटालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयबाट जनाइएपनि यसको आधिकारिक जानकारी दिइएको छैन ।
नाक, कान र घाँटीरोग विशेषज्ञ झापा निवासी प्रा. डा. बाँस्कोटा त्रिवि शिक्षण अस्पतालमा सो विषयमा पूर्वविभागीय प्रमुख तथा नेपाल मेडिकल काउन्सिलको पूर्वअध्यक्ष हुन् ।
त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँको कार्यकाल गत भदौ ५ गते सकिएपछि शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीलाई निमित्त दिइएको थियो ।
सर्च कमिटीले बाँस्कोटासहित डा. भगवान् कोइराला र डा. चन्द्रमणि पौडेललाई सिफारिस गरेको थियो ।
डा. बाँस्कोटाले सोमबार साँझसम्म पदबहाली गर्ने तयारी रहेको बुझिएको छ ।
अन्यमा नियुक्ति हुँदै
उपकुलपति रिक्त रहेका पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका लागि सिफारिस गर्न आन्तरिक सूची (रोस्टर) तयारीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही कात्तिक ९ गते सात दिनको समय दिइ व्यक्तिगत विवरण पठाउन सूचना प्रकाशन गरेको थियो ।
उपकुलपति नियुक्तिका लागि यसरी सूचना गरिएको यो पहिलोपटक हो ।
प्राप्त विवरणका आधारमा नाम सिफारिसका लागि सर्च कमिटीले काम गरिरहेको जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्