१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


बौद्ध धर्मावलम्बीले धम्मचक्क प्रवर्तन दिवस मनाए


0
Shares

काठमाडौं, साउन ११ । विश्वभरका बौद्ध धर्मावलम्बीहरुले शुक्रबार २६०७औं धम्मचक्क प्रवर्तन दिवस असला पूर्णिमा मनाएका छन् ।

आजकै दिन सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा भारतको बोधिगयामा सम्बोधिज्ञान प्राप्त गरेपछि भारतकै सारनाथस्थित वनमा पञ्च भद्रवर्गीय भिक्षुहरूलाई पहिलो उपदेश दिएका थिए ।

चतु आर्य सत्य, आर्य अष्टांगिक मार्ग र शील, समाधि र प्रज्ञाको उपदेश दिएका हुन् ।

सोही दिनको सम्झनामा आषाढ पूर्णिमाकोे दिनलाई बौद्ध समुदायले धम्मचक्क प्रवर्तन दिवसकारुपमा मनाउने गर्दछन् ।

यसदिन मुख्यगरी भारतको सारनाथलगायतका विभिन्न देशहरुमा रहेको बौद्धविहार र गुम्बाहरुमा विभिन्न बौद्धपाठ गरी धम्मचक्क प्रवर्तन सूत्र विशेषरुपमा पाठ गरिन्छ ।

बोधिसत्व सिद्धार्थले आमा मायादेवीको गर्भमा प्रवेश गरेको, सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा गृहत्याग (महाभिनिष्क्रमण) गरेको, सिद्धार्थ गौतमले सर्वप्रथम धर्म देशना गरेको, बुद्धले आफ्नो ऋद्धि देखाइ तीर्थन्करहरूको अहंकारलाई दमन गरेको र आमा मायादेवीलाई तुषिता भुवनमा अभिधम्म देशना गरेकोलगायतका गौतमबुद्धसँग सम्बन्धित संयोगहरूसमेत यही दिन परेको थियो ।

त्यस्तै, तीन महिना सम्म वर्षायाममा विहारमा भिक्षुहरूलाई ‘वर्षावास’मा राखी विशेष अध्ययन एवं धर्माेपदेश गर्ने चलन बुद्धले यसै दिनदेखि सुरु गरेको र भगवान बुद्धको महापरिनिर्वाणपछि भिक्षु महाकाश्यप महास्थविरको नेतृत्वमा भारतको राजगृहको सप्तपर्णि गुफामा प्रथम संघायना पनि यही दिनमा सुरु भएको थियो ।