
सरोज अधिकारी/नवीन स्थापित (इमेज)
काठमाडौं, साउन ११ । बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेस भएको छ ।
बिहीबार डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदाहरुलाई संशोधनमार्फत् समेट्ने गरी शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयक पेस गरिएको हो ।
विगत तीन हप्तादेखि अवरुद्ध संसद शुक्रबारदेखि खुलेको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डा. केसीले उठाएका मागअनुरुप नै आफू नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षासम्बन्धी अध्यादेशअनुरुप नै विधेयक ल्याउन माग गर्दै बैठक अवरुद्ध गरेको थियो ।
शुक्रबारको बैठकमा पनि सुरुमा कांग्रेस सांसदहरुले डा. केसीसँग भएका सहमति जानकारी गराउन माग गर्दै बैठक अवरुद्ध गरेका थिए ।
सरकारले सहमति टेबल गरेर तत्काल वितरण गरेपछि कांग्रेस सांसदहरु बैठक सन्चालन गर्न सहमत भएका थिए ।
बैठकमा बोल्दै कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले सहमति भएका विषय संसदमा जानकारी गराउन माग गरेका थिए ।
तर, शिक्षामन्त्री गिरिराजमणि पोखरेले सो विषयमा गोलमोटल भाषा प्रयोग गरेपछि कांग्रेस सांसदहरुले बैठक अवरोध गरेका थिए । केहीबेर प्रतिपक्षी कांग्रेस र सत्तारुढ दलबीच हो–हल्लासमेत भयो ।
मन्त्री पोखरेल फेरि सहमति टेबल गर्न तयार भएपछि बैठक अघि बढेको थियो ।
शुक्रबार दोस्रोपटक बसेको बैठकमा आफ्नो विरोधको सूचनामाथि बोल्दै कांग्रेस सांसद गगन थापाले सत्तारुढ दलले डा. केसीका माग सम्बोधन गरेकोमा धन्यवाद दिँदै आफूहरुले उठाएको चिकित्सा शिक्षासम्बन्धी विषय समावेश भएकाले विरोधको सूचना फिर्ता लिए ।
तर, डा. केसीका विरोधीले आफ्नो विषयमा ‘अनर्गल’ प्रचार गरेको भन्दै थापाले वर्तमान ‘सरकार केसीलाई सधैं सुताउन चाहन्थ्यो’–भने ।
बैठकमा विधेयक प्रस्तुत् गर्दै मन्त्री पोखरेलले कसैको दबाबमा नभइ जनताको चाहनालाई ध्यान दिएर आफूहरुले डा. केसीसँग सम्झौता गरेको र चिकित्सा शिक्षा सुधारमा लागेको बताए ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदमा पेस भएसँगै तत्कालका लागि डा. केसीको अनशनबाट उठेका केही प्रश्नहरुको पनि किनारा लागेको छ ।
प्रतिक्रिया दिनुहोस्