Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


जनमतसंग्रह गरौं, संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु सङ्‌कटमा धकेल्ने चाल हो– विप्लव


13
Shares

biplab address mass meeting

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनमतसंग्रह हुनुपर्ने बताउनुभएको छ ।

संसद्‌ विघटन र मध्यावधि निर्वाचन घोषणापछि वक्तव्य जारी गर्दै विप्लवले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था जनताको चाहना र आवश्यकतासँग मेल नखाएकाले यो सफल नहुने आफूहरूको निस्कर्ष सही साबित भएको दाबी गर्नुभएको हो ।

लगभग दुई तिहाइ मतसहित बनेको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि जानुपर्ने वाध्यता आउनु कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भएको वक्तव्यमा उल्लेख छ ।

फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु देशलाई झन्‌ ठूलो अन्तरविरोध सङ्‌कटमा धकेल्ने चालमात्र भएको विप्लवको तर्क छ । जारी संकटको निकास निर्विकल्प रूपले समाजवाद मात्र हुने र यो पार्टीको मत, जनताको माग र चाहनासँग जोडिएको उहाँको भनाइ छ ।

संसद्‌वादी पार्टी, नेता र सरकार असफल भएकाले अब राज्यको संकटलाई उचित निकास दिने जिम्मा जनतालाई प्रदान गर्नुपर्ने तर्क गर्दै उहाँले जनतालाई नै दलाल पुँजीवाद या वैज्ञानिक समाजवाद रोज्ने जिम्मा दिनुपर्ने माग गरेका छन्‌ ।

जनमतसंग्रहका लागि दलहरू तयार हुने हो भने संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।