काठमाडौं, जेठ ६ । घरेलु, साना तथा मझौला उद्योगीहरुले व्यवसाय पुनरुत्थानका लागि आगामी आर्थिक बर्षको बजेटमा विशेष प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
कोभिड १९ संक्रमणको पहिलो लहरको क्रममा नै लामो समयसम्मको बन्दाबन्दीका कारण मर्कामा परेको व्यवसाय पुरानै लयमा फर्कन नपाउँदै दोस्रो लहरमा गरिएको बन्दाबन्दीले थला परेको भन्दै निरन्तरताका लागि सरकारले विशेष प्याकेज घोषणा गर्नुपर्ने माग उनीहरुले गरेका हुन् ।
साना तथा मझौला व्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष इनु पौडेलले साना तथा मझौला व्यवसायी मारमा परेकाले शुन्यको अवस्थाबाट व्यवसाय सुरु गर्नुपर्ने अवस्थामा पुगेको व्यवसाय पुनरुत्थानका लागि विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
नेपाल घरेल्ु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश सिंहले कोभिड १९ संक्रमणको पहिलो लहरको बेला चालु आर्थिक बर्षको बजेटमा सरकारले घोषणा गरेको पुनर्कर्जा र राहत प्याकेज समेत पाउन नसकेको गुनासो गर्नुभयो ।
पुर्नकर्जाबाट ठूला औद्योगिक घरानाले मात्रै फाईदा उठाउने गरेको तथा महिला उद्योगीका लागि भनिएको १५ लाख रुपैयाँ को विनाधितो सहुलियत कर्जा पनि वास्तविक उद्योगीले पाउने नसकेको गुनासो उनीहरुको छ ।
घरेलु, साना तथा मझौला उद्योगहरु संकटमा पर्ने हो भने यी उद्योगमा कार्यरत श्रमिकको ठूलो संख्या प्रत्यक्ष रोजगारीबाट विमुख हुने र तीनमा आश्रित परिवारको आर्थिक अवस्था पनि प्रभावित हुने उनीहरुको दुखेसो छ ।









प्रतिक्रिया दिनुहोस्